
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले आफ्नो दलको उद्देश्य प्रधानमन्त्रीको विरोध गर्नु नभई उनलाई संसद् र जनताप्रति जिम्मेवार बनाउनु रहेको बताएकी छन्।
मंगलबार सिंहदरबारमा सभामुखसँग भएको छलफलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै थापाले सीमा विवादबारे प्रधानमन्त्रीले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने जनअपेक्षा रहेको उल्लेख गरिन्। सोही कारण संसद्मा उक्त विषय निरन्तर उठाइएको उनको भनाइ थियो।
थापाका अनुसार सत्ता पक्षका प्रमुख सचेतकहरूले प्रधानमन्त्रीसँग यस विषयमा छलफल गर्ने प्रतिबद्धता सभामुखमार्फत व्यक्त गरेका छन्।
उनले सीमा विवादका सम्बन्धमा जनताले प्रधानमन्त्रीबाट आधिकारिक जवाफको अपेक्षा गरिरहेको भन्दै त्यसबारे सम्बोधन नहुँदासम्म संसद्मा आकस्मिक समयमार्फत ध्यानाकर्षण गराइरहनुपर्ने अवस्था रहेको बताइन्।
थापाले नेपाली कांग्रेस संविधान र संसदीय व्यवस्थाप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै आफ्नो पार्टी सदन अवरोध गर्ने पक्षमा नरहेको स्पष्ट पारिन्। उनले संविधानमाथि कुनै प्रकारको आँच आउने अवस्था सिर्जना भए कांग्रेस त्यसको संरक्षणका लागि अग्रपङ्क्तिमा उभिने पनि बताइन्।
उनले कांग्रेसले सधैँ विधिको शासन, संवैधानिक व्यवस्था र संसदीय मर्यादाको पक्षमा अडिग रहेर भूमिका निर्वाह गर्दै आएको धारणा व्यक्त गरिन्।










Facebook Comments