काठमाडौं । प्रतिनिधिसभाको आगामी बैठकलाई प्रभावकारी बनाउने तयारीस्वरूप सभामुख डीपी अर्यालले प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाएका छन्।

सभामुख अर्यालले मंगलबार दिउँसो २ बजेका लागि बोलाएको बैठकमा संसद् सञ्चालन, विधायकी कामकारबाही र आगामी कार्यसूचीबारे छलफल हुने सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए।

ad

गत साउन १४ गतेदेखि स्थगित रहेको प्रतिनिधिसभा बैठक अब निरन्तर सञ्चालन गर्ने तयारी भइरहेको छ। तर पछिल्लो समय सरकारले संसद्लाई आवश्यक बिजनेस उपलब्ध गराउन नसकेको र संसद् क्यालेन्डरअनुसार सञ्चालन हुन नसकेको विषयमा प्रश्न उठ्दै आएको छ।

यसैबीच, रास्वपाले आफ्नै दलकी सचेतक क्रान्तिशिखा धिताललाई सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गरेको विषयमा सचेत गराएको छ।

धितालले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी व्यवस्थापनको विषयमा प्रश्न उठाउँदै फेसबुकमा धारणा सार्वजनिक गरेकी थिइन्। उनले राज्यले संवेदनशीलता, योजना र जिम्मेवारीका साथ व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको कार्यशैलीमाथि आलोचना गरेकी थिइन्।

उनको उक्त अभिव्यक्तिपछि पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले फेसबुकमार्फत नभई सरकार र पार्टीभित्रै विषय उठाउनुपर्ने भन्दै सचेत गराएको स्रोतले जनाएको छ।

रास्वपाका एक नेताका अनुसार लिखित स्पष्टीकरण लिने तयारी भए पनि अन्तिममा मौखिक रूपमा मात्रै सचेत गराइएको थियो। पार्टीका प्रमुख सचेतक र सचेतकहरू दलका जिम्मेवार पदाधिकारी भएकाले सार्वजनिक आलोचनाभन्दा समस्या समाधानका लागि आन्तरिक पहल गर्नुपर्ने धारणा पार्टीभित्र उठेको बताइएको छ।

यद्यपि, सांसद धितालले आफूलाई स्पष्टीकरण नसोधिएको बताएकी छन्। उनले आफूले लेखेको अभिव्यक्तिलाई कुनै नेतासँग जोडेर हेर्न नहुने बताउँदै महिला सांसदले स्वतन्त्र धारणा राख्दा शंकाको दृष्टिले हेर्ने प्रवृत्तिमाथि प्रश्न उठाएकी छन्।

रास्वपाभित्र सरकारको कार्यशैलीलाई लिएर केही सांसदहरूले आलोचनात्मक धारणा राख्न थालेपछि पार्टी र सरकारबीचको सम्बन्धबारे पनि चर्चा हुन थालेको छ। यसअघि रास्वपाका केही सांसदहरूले सरकारका कामकारबाहीबारे सार्वजनिक रूपमा प्रश्न उठाएका थिए।

सरकारमा सहभागी दलका सांसदहरूले नै आलोचना गर्न थालेपछि प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले सांसदहरूसँग समन्वय बढाउने प्रयास थालेको बताइएको छ। मन्त्रालयगत विषयमा सांसदका गुनासा र सुझाव सम्बोधन गर्ने नीति लिइएको स्रोतको भनाइ छ।