
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्ज नगरपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले घटनामा एक युवाको मृत्यु भएको र अन्य केही व्यक्ति घाइते भएकोप्रति दुःख व्यक्त गरेका छन्। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
आङ्देम्बेले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरेका छन्।
उनले शान्ति–सुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी भएको उल्लेख गर्दै घटनाबारे गृहमन्त्रीले सार्वजनिक रूपमा जवाफ दिनुपर्ने बताए।
‘शान्ति र सुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी हो। त्यसैले यस घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ,’ उनले भने।
आङ्देम्बेका अनुसार पछिल्लो समय सरकारप्रति नागरिकको असन्तोष बढ्दो क्रममा रहेको छ। उनले त्यसको प्रभावस्वरूप आत्मदाहजस्ता गम्भीर घटना पनि दोहोरिन थालेको उल्लेख गर्दै सरकार संवेदनशील बन्नुपर्ने धारणा राखे।
उनले हिंसा, आगजनी, तोडफोड र प्रतिशोधबाट कुनै पनि समस्याको समाधान ननिस्कने भन्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरे। साथै, सुरक्षाकर्मीले कानुनको परिधिभित्र रहेर अधिकतम संयमता अपनाई शान्ति र सुरक्षाको वातावरण कायम गर्नुपर्नेमा जोड दिए।
आङ्देम्बेले अफवाह र उक्साहटबाट प्रभावित नहुन सबैलाई आग्रह गर्दै संवाद, सहिष्णुता र कानुनी प्रक्रियामार्फत विवाद समाधान गर्न अपिल गरेका छन्।










Facebook Comments