
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरे र जिल्ला प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ।
गृह मन्त्रालय स्रोतका अनुसार बोलबम यात्राका क्रममा उत्पन्न तनावलाई समयमै नियन्त्रण गर्न सुरक्षा संयन्त्र प्रभावकारी हुन नसकेको निष्कर्षसहित दुवै अधिकारीलाई मन्त्रालयमा तान्ने तयारी भइरहेको छ। उनीहरूको स्थानमा वैकल्पिक टोली खटाउने तयारीसमेत गरिएको स्रोतले जनाएको छ।
घटनाको सत्यतथ्य छानबिन गर्न सरकारले समिति गठन गरिसकेको छ। प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन र सुरक्षा नेतृत्वको भूमिकामाथि प्रश्न उठेको छ।
यसैबीच, घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय छलफल जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार बैठकमा जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकायका प्रतिनिधि तथा धार्मिक अगुवाहरू सहभागी छन्। स्थानीयस्तरमा शान्ति कायम गर्ने र थप तनाव फैलिन नदिने विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ।
आइतबार राति दुई समुदायबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा देवानगञ्ज–४ का ३० वर्षीय ओमप्रकाश मेहता घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा स्थानीय नौ जना र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका गरी २० भन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन्।
घाइतेमध्ये केहीको विराटनगरस्थित न्युरो अस्पताल र विराट नर्सिङ होममा उपचार भइरहेको छ। प्रहरी इन्स्पेक्टर राकेश राईसहित नेपाल प्रहरीका विभिन्न दर्जाका सुरक्षाकर्मी पनि घाइते भएका छन्।
घटनापछि प्रभावित क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ भने अवस्था सामान्य बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय र सरोकारवालाबीच निरन्तर समन्वय भइरहेको गृह मन्त्रालयले जनाएको छ।










Facebook Comments