काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा गएराति भएको घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन गरेको छ। 

गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिलाई घटनाको सत्यतथ्य जाँचबुझ गरी एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

ad

समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ऊर्जा मन्त्रालयका प्रतिनिधिलाई पनि सदस्य राखिएको छ। सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी सदस्य सचिव रहनेछन्। 


सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा गएराति दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। त्यसक्रममा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। 

झडपमा केही सुरक्षाकर्मी पनि घाइते भएको प्रहरीले जनाएको छ। घटना थप बढ्न नदिन अहिले सुनसरीका विभिन्न स्थानमा कफ्र्यु आदेश लगाइएको छ। तर मृतक र घाइते पक्षका समूहले ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् । अहिले पूर्वपश्चिम राजमार्गको सुनसरी खण्ड अवरुद्ध छ ।