काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकार गठनका लागि भएको तीनबुँदे समझदारीप्रति नेकपाका सहसंयोजक माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन्।

नेपालनिकट नेताहरूका अनुसार प्रदेश सरकारको नेतृत्व बाँडफाँडमा केन्द्रित सहमति मात्र पर्याप्त नभएको भन्दै उनले साझा राजनीतिक नीति, कार्यक्रम र जनमुखी एजेन्डासहितको स्पष्ट कार्यदिशा आवश्यक रहेको धारणा राखेका छन्।

ad

उनले कार्यगत सहकार्यसँगै भविष्यमा वाम शक्तिबीचको सम्बन्ध कस्तो हुने, एकताको सम्भावना के हो र नयाँ सरकारको प्राथमिकता के हुने भन्ने विषय पनि स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्।

शनिबार भएको ओली–प्रचण्डबीचको सहमति प्रक्रियामा भने माधव नेपाल सहभागी थिएनन्। त्यसपछि उनले निकटस्थ नेताहरूसँगको छलफलमा सत्ता साझेदारीभन्दा नीति र कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेको स्रोतले जनाएको छ।

ओली र प्रचण्डबीच भएको सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने समझदारी भएको छ। गण्डकी र मधेश प्रदेशको नेतृत्व भने अन्य राजनीतिक दलसँगको छलफलपछि टुंग्याउने सहमति भएको छ।