काठमाडौं । प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा एमाले र नेकपाबीच भएको सहमतिसँगै दुई दलबीच पार्टी एकतासम्म पुग्ने सम्भावनाबारे राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। यही क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी एकताको प्रस्तावसँगै संसदीय दलको नेताको जिम्मेवारी दिने प्रस्ताव राखेको दाबी स्रोतहरूले गरेका छन्।

एमाले स्रोतका अनुसार प्रदेश सरकारको समीकरण मिलाउनुअघि नै ओली र प्रचण्डबीच पार्टी एकताबारे अनौपचारिक छलफल भएको थियो। त्यसक्रममा ओलीले प्रचण्डलाई संसदीय दलको नेतृत्व सम्हाल्न आग्रह गर्दै आफू भने पार्टी नेतृत्वमै रहने संकेत गरेका थिए।

ad

स्रोतका अनुसार प्रचण्डले पनि आफूलाई यस्तो प्रस्ताव आएको जानकारी केही निकटस्थ नेताहरूलाई गराएका थिए। यद्यपि दुवै दलले यस विषयमा औपचारिक रूपमा कुनै पुष्टि गरेका छैनन्।

प्रदेश सरकारको भागबन्डामा शनिबार भएको सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले लिनेछ भने कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्नेछ। गण्डकी र मधेश प्रदेशको नेतृत्व अन्य दलसँगको छलफलपछि टुंग्याइने समझदारी भएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार प्रदेश सहकार्य मात्र नभई दुई दलबीचको सम्बन्ध पुनः बलियो बनाउने प्रयासका रूपमा पनि यसलाई हेरिएको छ। २०७५ मा एकीकृत भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि पहिलोपटक दुवै दल यति निकट देखिएका हुन्।

यता एमालेभित्र भने ओलीको पछिल्लो रणनीतिलाई लिएर प्रश्न उठ्न थालेका छन्। पार्टी पुनर्गठनको बहस चलिरहेका बेला ओलीले नयाँ राजनीतिक समीकरणमार्फत आफ्नो नेतृत्व थप बलियो बनाउन खोजेको आन्तरिक नेताहरूको बुझाइ छ। सचिवालय बैठकपछि गठित पुनर्गठन कार्यदलले प्रतिवेदन तयार गरिरहेका बेला ओलीले नेकपासँग सहकार्यको कार्ड अघि सारेको उनीहरूको विश्लेषण छ।

एमालेका केही नेताहरूले पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला प्रचण्डसँगको निकटताले ओलीलाई तत्काल राजनीतिक राहत मिल्ने आकलन गरेका छन्। दुई दलको संसदीय शक्ति जोडिँदा नेपाली कांग्रेसभन्दा ठूलो शक्ति बन्ने भएकाले यसलाई दीर्घकालीन राजनीतिक रणनीतिको रूपमा पनि हेरिएको छ।

यद्यपि नेकपाका नेता वर्षमान पुनले ओलीबाट प्रचण्डलाई संसदीय दलको नेता बन्ने प्रस्ताव आएको विषयमा आफूलाई जानकारी नभएको बताए। उनका अनुसार हालको सहमति प्रदेश सरकारमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्नका लागि गरिएको हो र अहिले नै पार्टी एकता वा चुनावी सहकार्यबारे निष्कर्ष निकाल्ने अवस्था नरहेको स्पष्ट पारे।