
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले डा गोविन्द केसीले उठाएका मागको समाधान संवाद र सहमतिका माध्यमबाट खोज्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
शनिबारदेखि डा केसी धनगढीमा अनशनमा बसेपछि उनको स्वास्थ्य अवस्थाप्रति चासो बढिरहेका बेला मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत सरकार वार्तालाई प्राथमिकतामा राखेर अघि बढिरहेको जानकारी दिएका हुन्।
उनका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल डा केसीसँग प्रत्यक्ष छलफलका लागि धनगढी पुगिसकेका छन्। सचिवको भ्रमणले वार्ता प्रक्रियालाई औपचारिक रूपमा अघि बढाउने विश्वास सरकारले लिएको मन्त्री पोखरेलले उल्लेख गरेका छन्।
मन्त्री पोखरेलले शुक्रबार साँझ आफूले डा केसीसँग टेलिफोनमार्फत प्रारम्भिक संवाद गरेको र त्यसको निरन्तरताका रूपमा मन्त्रालयका सचिवलाई वार्ताका लागि धनगढी पठाइएको जानकारी दिएका छन्।
यस्तै, आइतबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव पनि धनगढी पुगेर वार्तामा सहभागी हुने तयारी रहेको उनले बताएका छन्।
मन्त्री पोखरेलले सरकार वार्तामार्फत डा केसीले उठाएका विषयमा यथाशीघ्र सहमतिपूर्ण निष्कर्षमा पुग्ने प्रयासमा रहेको दोहोर्याउँदै सबै पक्षलाई संवादबाट समाधान खोज्न आग्रह गरेका छन्।










Facebook Comments