काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने सम्बन्धमा तीनबुँदे सहमति भएको छ । 

शनिबार साउन ९ गते एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा हस्ताक्षरित सहमतिपत्रमा प्रदेशसभाहरूमा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेटविहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाको अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउने लक्ष्य राखिएको छ ।

ad

सहमतिअनुसार दुवै दल प्रदेश सभाहरूमा मिलेर सहकार्य गर्न र संयुक्त सरकार गठन गर्न सहमत भएका छन् । प्रदेश सरकारको नेतृत्व बाँडफाँड अन्तर्गत कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्ने तय भएको छ । 

त्यस्तै, बाँकी रहेका मधेश र गण्डकी प्रदेशको हकमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व तथा सहभागिताको स्वरूप तय गरिने सहमतिपत्रमा उल्लेख छ ।