काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनको हालै भएको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालय नै बेखबर रहेको पाइएको छ। शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जबाफ दिँदै मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यसबारे औपचारिक जानकारी नभएको बताएका हुन्।

प्रवक्ता क्षेत्रीले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको भारत भ्रमणबारे मन्त्रालयमा कुनै पनि औपचारिक अभिलेख वा सूचना प्राप्त नभएको स्पष्ट पारे। सञ्चारमाध्यमहरूमा सार्वजनिक भए अनुसार बेन गत जुलाईको पहिलो साता स्थलमार्गमार्फत पर्साको रक्सौल हुँदै नयाँ दिल्ली पुगेका थिए। नयाँ दिल्ली बसाइका क्रममा उनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसहित अन्य उच्चपदस्थ भारतीय अधिकारीहरूसँग भेटवार्ता गरेको चर्चा छ।

ad

प्रधानमन्त्रीका मुख्य सल्लाहकार मन्त्री सरहको कूटनीतिक र राजनीतिक हैसियतमा रहने भए पनि उनको भ्रमणबारे न त परराष्ट्र मन्त्रालयलाई पूर्वजानकारी दिइयो, न त प्रधानमन्त्रीको सचिवालयले नै यसबारे कुनै औपचारिक धारणा सार्वजनिक गरेको छ। उच्चस्तरीय कूटनीतिक भेटघाट र भ्रमणबारे परराष्ट्र मन्त्रालय नै अनभिज्ञ रहनुले सरकारको आन्तरिक समन्वय र कूटनीतिक मर्यादामाथि प्रश्न उठाएको छ।