काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापन सम्बन्धी कडा आन्तरिक निर्देशन जारी गरेको छ। 

पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी निर्देशन अनुसार अब रास्वपाका कुनै पनि सांसदले एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिवको रूपमा नियुक्त गर्न पाउने छैनन्। मन्त्रीपरिषद्ले संघीय संसद्का सदस्यहरूलाई शाखा अधिकृत सरहको एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेसँगै राज्यकोषको सम्भावित दुरुपयोग रोक्न र सुशासन कायम राख्न पार्टीले यो नीति ल्याएको हो।

ad

पार्टीको विधान र सुशासनको मूल सिद्धान्त अनुसार नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गर्दै पारिवारिक परिधिभन्दा बाहिरका व्यक्तिलाई मात्र यो जिम्मेवारी दिनुपर्ने व्यवस्था गरिएको छ। स्वकीय सचिव चयनका लागि सांसदहरूले सार्वजनिक आह्वान वा खुला प्रतिस्पर्धात्मक विधि अपनाउनुपर्नेछ। यसका लागि संसदीय दलले तयार पारेको साझा ढाँचाका आधारमा विज्ञापन आह्वान गरेर मात्र आवेदन माग्नुपर्ने अनिवार्य नियम बनाइएको छ।

उम्मेदवारको शैक्षिक योग्यता कम्तीमा स्नातक तह उत्तीर्ण हुनुपर्नेछ भने विज्ञता, प्रविधिमैत्री क्षमता र अनुसन्धान कौशल भएका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ। साथै, नियुक्ति प्रक्रियामा महिला, सीमान्तकृत र पिछडिएका वर्गलाई विशेष प्रोत्साहन गर्ने नीति पार्टीले लिएको छ। स्वकीय सचिवको पारिश्रमिक सिधै निजकै बैंक खातामा जम्मा हुने व्यवस्था मिलाउनुपर्नेछ र पारिश्रमिकबाट कुनै पनि प्रकारको रकम कट्टा गर्ने वा हिनामिना गर्ने कार्यलाई गम्भीर अनुशासनहीनता मानिनेछ।

सांसदहरूले छनोट गरेका उम्मेदवारलाई नियुक्त गर्नुअघि रास्वपा संसदीय दलबाट अन्तिम स्वीकृति लिनुपर्नेछ र उम्मेदवारको बायोडाटा तथा शैक्षिक प्रमाणपत्रको प्रतिलिपि केन्द्रीय कार्यालयमा दर्ता गराउनुपर्नेछ। यदि कसैले फर्जी कागज खडा गरी सुविधा लिएको वा नातेदारलाई नियुक्त गरेको पाइएमा पार्टीको केन्द्रीय अनुशासन समितिले तत्काल कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ।