
काठमाडौँ — चौतर्फी असन्तुष्टि र आलोचनाका बाबजुद सरकार हप्तामा दुई दिन बिदा दिने निर्णयबाट पछाडि नहट्ने भएको छ। साताको दोस्रो दिन आइतबार दिइँदै आएको बिदा फिर्ता नहुने प्रस्ट पार्दै सरकारले अब यसलाई निजी क्षेत्रमा समेत पूर्ण रूपमा लागू गराउन पहल थाल्ने जनाएको छ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार प्रारम्भिक चरणमा यो निर्णय केही अलोकप्रिय जस्तो देखिए पनि यसको वास्तविक सकारात्मक परिणाम दीर्घकालमा मात्रै देखिनेछ। निर्णय गर्दा नै असन्तुष्टि आउन सक्छ भन्ने पूर्वअनुमान सरकारलाई रहेको उनको भनाइ छ।
'आइतबार बिदा दिने निर्णयले तत्कालका लागि केही असहजता थपेको महसुस भए पनि दीर्घकालीन रूपमा यसको असर सकारात्मक हुनेछ,' मन्त्री पोखरेलले भने, 'कर्मचारीको मानसिक स्वास्थ्य र समग्र कार्यसम्पादन (पर्फोमेन्स) सुधारका लागि दुई दिने सप्ताहान्त बिदा अत्यावश्यक भइसकेको छ। अन्तर्राष्ट्रिय अभ्यासले पनि यसको प्रभावकारिता पुष्टि गरिसकेकाले सरकार यो निर्णयबाट पछि हट्दैन।'
अहिले सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था एवं केही कर्पोरेट हाउसहरूमा यो नियम लागू भइसकेको छ। अब यसलाई विद्यालय र बाँकी निजी क्षेत्रमा कसरी सहज ढङ्गले लैजाने भन्नेबारे सरकारले छलफल अघि बढाउने भएको छ।
विशेषगरी बालबालिकाको बिदा र अभिभावकको काम गर्ने तालिका नमिल्दा परेको अप्ठेरोबारे बोल्दै उनले भने, 'धेरै अभिभावकले बालबालिका घरमा बस्दा व्यवस्थापनमा गारो भयो भन्नुभएको छ। अब आइतबार बालबालिकालाई जबर्जस्ती स्कुल पठाउने होइन, अभिभावकलाई नै छुट्टी दिलाउनेतर्फ ध्यान दिइनेछ।'
निजी क्षेत्रका विद्यालय तथा उद्योग-व्यवसायमा पनि दुई दिने बिदाको प्रणाली व्यवस्थित गर्न सरकारले निजी क्षेत्रका साझेदारहरूसँग सहकार्य र अनुरोध गर्ने मन्त्री पोखरेलले जानकारी दिए।










Facebook Comments