
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन्। पार्टीका उच्च तहका नेता र सांसदहरूसहितको चार सदस्यीय टोलीको नेतृत्व गर्दै उनी यही साउन महिनाभित्रै बेइजिङ प्रस्थान गर्ने तयारीमा जुटेका हुन्।
भ्रमणका क्रममा सभापति लामिछानेले चिनियाँ विदेशमन्त्री वाङ यीसहित त्यहाँका उच्च सरकारी तथा राजनीतिक नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ। नयाँ सरकार गठन भएयता प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपालका दुई निकट छिमेकी भारत र चीनका राजदूतहरूसँग अहिलेसम्म 'वान-अन-वान' (प्रत्यक्ष) संवाद गरेका छैनन्। सरकार र छिमेकी मुलुकहरूबीच एक किसिमको संवादहीनताको अवस्था देखिएका बेला सत्तारुढ दलका प्रमुख नेताका रूपमा लामिछानेले यो भ्रमणमार्फत राजनीतिक पहलकदमी लिन खोजेको विश्लेषण गरिएको छ।
रास्वपा स्रोतका अनुसार भ्रमण टोलीमा रहने अन्य सदस्यहरूको नाम भने अहिले गोप्य राखिएको छ। यस भ्रमणका क्रममा नेपाल-चीन सम्बन्धका विविध आयाम र समसामयिक राजनीतिक विषयमा विस्तृत छलफल हुने बताइएको छ। यो पूर्ण रूपमा राजनीतिक भ्रमण भएकाले चिनियाँ अधिकारीहरूसँगको भेटमा नेपाल सरकारका कुनै प्रतिनिधि वा कूटनीतिक अधिकारी सहभागी नहुने बुझिएको छ।
सत्तारुढ दलका सभापति चीन जाने तयारीमा रहँदा यता प्रधानमन्त्री बालेन शाहले पनि आफ्नो भारत भ्रमणका लागि भित्री च्यानलबाट गृहकार्य सुरु गरेको खुलेको छ। सरकारले सय दिन पूरा गरिसकेको सन्दर्भमा प्रधानमन्त्री शाहले आफ्ना प्रमुख सल्लाहकार कुमार बेनलाई केही समयअघि नयाँ दिल्ली पठाएका थिए।
नयाँ दिल्लीमा सल्लाहकार बेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग उच्चस्तरीय भेटघाट र परामर्श गरिसकेको स्रोतको दाबी छ। यसरी एकातर्फ प्रधानमन्त्रीको सचिवालयले भारत भ्रमणको वातावरण बनाउँदै गर्दा अर्कोतर्फ सत्ता साझेदार दलका नेता लामिछानेको बेइजिङ भ्रमण हुन लाग्नुलाई भूराजनीतिक सन्तुलन मिलाउने प्रयासका रूपमा समेत हेरिएको छ।










Facebook Comments