काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले कांग्रेसलाई मुलुककै सबैभन्दा बढी सदस्य भएको र पूर्ण रूपमा डिजिटल नेटवर्कमा जोडिएको आधुनिक पार्टी बनाउने अभियान सुरु भएको बताएका छन्। ४४ औँ बीपी स्मृति दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

महामन्त्री पौडेलले पार्टीको सदस्यता वितरण र व्यवस्थापन प्रणालीमा क्रान्तिकारी परिवर्तन गरिएको बताउँदै विगतमा सदस्यतालाई लिएर हुने गरेका आन्तरिक विवाद सधैँका लागि अन्त्य भएको उल्लेख गरे।

ad

पार्टीको सदस्यता अद्यावधिक गर्ने कार्य उत्साहजनक रूपमा अघि बढेको जानकारी दिँदै महामन्त्री पौडेलले गत पुससम्म ७ लाख ८८ हजार सदस्यको विवरण अद्यावधिक भइसकेको बताए। केही प्राविधिक अन्योलका बाबजुद हालसम्म ८० प्रतिशतभन्दा बढी सदस्यले आफ्नो विवरण डिजिटल प्रणालीमा दर्ता गराइसकेको उनले स्पष्ट पारे।

अबका दिनमा नयाँ सदस्यता वितरण पूर्ण रूपमा डिजिटल माध्यमबाट मात्र हुनेछ। कार्यक्रममा बोल्दै पौडेलले भने,
'अब कांग्रेसका हरेक सदस्यसँग आफ्नै डिजिटल आईडी हुनेछ। नेपाली कांग्रेसका सबै नेता तथा कार्यकर्ता एउटै डिजिटल नेटवर्कमा जोडिनेछन्, जसले पार्टीलाई पूर्ण रूपमा प्रविधिमैत्री र व्यवस्थित बनाउनेछ।'

१८ वर्ष पुगेका र राजनीतिक दलको सदस्य बन्न योग्य सबै नेपालीका लागि कांग्रेसको ढोका खुल्ला रहेको बताउँदै महामन्त्री पौडेलले पार्टीको केन्द्रीय संरचनामा युवाहरूको भूमिका सुनिश्चित गरिएको बताए। उनका अनुसार ३५ वर्षभन्दा कम उमेरका २१ जना युवालाई केन्द्रीय समितिमा ल्याउने विशेष व्यवस्था विधानमै समेटिएको छ।

पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउन अब उम्मेदवार छनोटको परम्परागत प्रक्रिया समेत परिवर्तन गरिने उनले घोषणा गरे। आगामी दिनमा विभिन्न तहका निर्वाचनका लागि उम्मेदवार तय गर्दा पार्टी सदस्यहरूबीच प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) गराएर मात्र टिकट वितरण गरिने नयाँ नीति कांग्रेसले अघि सारेको छ। 

१५ औँ महाधिवेशन अगावै १४ औँ महाधिवेशनकै हाराहारीमा सदस्यहरू डिजिटल प्रणालीमा अद्यावधिक भइसक्ने दाबी गर्दै उनले यो नवीन अभियानले कांग्रेसमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे।