
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक आलोचनामा मात्र अल्झिनुभन्दा महामानव बीपी कोइरालाको विचार, संस्कार र आदर्शलाई २१औँ शताब्दीका युवाको आकांक्षासँग जोडेर देशलाई समुन्नतिका तर्फ लैजानुपर्नेमा जोड दिएका छन्।
काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आयोजित नेपाली कांग्रेसको ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र हुने आलोचनाको जवाफ प्रत्युत्तरबाट नभई रचनात्मक कामबाट दिनुपर्ने बताए। कसैले आलोचना गर्यो भन्दैमा त्यतैतर्फ केन्द्रित हुँदा राजनीतिक लक्ष्य र गन्तव्य ओझेलमा पर्ने उनको तर्क थियो।
जलवायु परिवर्तन: विश्वव्यापी संकट र नेपालको जोखिमसम्बोधनका क्रममा उपसभापति शर्माले जलवायु परिवर्तनलाई विश्वकै सबैभन्दा गम्भीर चुनौतीका रूपमा चित्रण गरे। नेपाल यसको प्रत्यक्ष मारमा परेको उल्लेख गर्दै उनले पछिल्ला वर्षहरूमा देखिएका प्राकृतिक विपद्, काठमाडौँको बाढी, भारतको टिस्टा क्षेत्रको क्षति र साउदी अरेबियामा अत्यधिक गर्मीका कारण भएको मानवीय क्षतिको उदाहरण प्रस्तुत गरे।अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्रतिवेदनलाई उद्धृत गर्दै उनले नेपालसहितका हिमाली क्षेत्रका ४७ वटा हिमतालहरू जुनसुकै बेला विस्फोट हुन सक्ने जोखिममा रहेकोतर्फ सचेत गराए।
कांग्रेसले सञ्चालन गरेको ‘ग्रिन रन’ केवल खेलकुद नभएर जलवायु संकटबारे समाजलाई ब्युँझाउने चेतनामूलक अभियान भएको उनले प्रष्ट पारे।वातावरण संरक्षणमा बीपीको दूरदृष्टि र 'रुख' चिह्नको रहस्यउपसभापति शर्माले बीपी कोइरालाले दशकौँ पहिले नै वातावरण संरक्षणको महत्त्व बुझेको स्मरण गरे।
बीपीकै पालामा वन संरक्षणका लागि चालिएका कदम र पछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सामुदायिक वनको अवधारणा ल्याइएका कारण आज नेपालको कुल भूभागको ४५ प्रतिशत क्षेत्र वनले ढाकेको र यो विश्वकै लागि उदाहरणीय बनेको उनले बताए।
रुख नै पृथ्वी र पर्यावरण जोगाउने मुख्य आधार भएको दूरदृष्टि राखेर नै बीपी कोइरालाले कांग्रेसको चुनाव चिह्न ‘रुख’ रोजेको नयाँ प्रसङ्ग समेत शर्माले उल्लेख गरे। हिमाल र पृथ्वीको संरक्षणका लागि अब नागरिकस्तरमा जलवायु शिक्षामूलक अभियान लैजानु आवश्यक रहेको उनको भनाइ थियो।










Facebook Comments