काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका चार पुस्ताका नेता तथा कार्यकर्तालाई उचित रूपमा समेटेर लैजानु आफ्नो मुख्य जिम्मेवारी भएको बताएका छन्। ४४औँ बिपी स्मृति दिवसका अवसरमा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।

सभापति थापाले बद्लिँदो राष्ट्रिय परिवेश र परिस्थितिलाई मध्यनजर गर्दै पार्टीले नयाँ सोच, चिन्तन र शैलीलाई आत्मसात् गर्नुपर्ने समय आइसकेको उल्लेख गरे।

ad

पछिल्लो समय पार्टीभित्र र बाहिर राजनीति केवल सरकार गठन र निर्वाचन जित्ने रणनीतिमा मात्र सीमित हुँदै गएकोप्रति थापाले चिन्ता व्यक्त गरे। उनले महामानव बिपी कोइरालाको आदर्श, त्याग र सेवाभावलाई भुल्न नहुने स्पष्ट पारे। राजनीतिलाई केवल सत्ताको भर्‍याङ मात्र बनाउनुको साटो सामाजिक सेवा र जनजीविकाका सवालमा केन्द्रित गर्नुपर्नेमा उनको जोड थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले भने,' 'सामाजिक सञ्जाल (रिल) को भर्चुअल दुनियाँबाट बाहिर निस्केर वास्तविक जीवन (रियल लाइफ) मा फर्कनुस्। तब मात्र सर्वसाधारण जनताका वास्तविक पीडा र आवाज सुन्न सकिन्छ। दुःख र अप्ठ्यारोमा परेका नागरिकले 'कांग्रेस हाम्रो साथमा छ' भन्ने महसुस गर्ने गरी काममा लाग्नुहोस्।'

नेपाली कांग्रेस प्रदेश र स्थानीय तहका सरकारहरूमा सहभागी भए पनि सङ्घीय संसद्मा भने सशक्त प्रतिपक्षको भूमिकामा रहेको थापाले स्मरण गराए। उनले सरकारमा रहँदा वा बाहिर रहँदा, जहाँ भए पनि आ-आफ्नो क्षेत्रबाट जनताका दैनिक समस्या समाधानका लागि सक्रिय भएर लाग्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।