
काठमाडौं । नेकपा (एमाले) ले संविधान संशोधनसम्बन्धी तयारीलाई अघि बढाउने क्रममा सुझाव संकलन र प्रारम्भिक अध्ययनका विषयमा केन्द्रित उपसमितिको बैठक सम्पन्न गरेको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकको अध्यक्षता उपसमिति संयोजक अग्नि खरेलले गरेका थिए। बैठकमा संविधान पुनरावलोकनका लागि आवश्यक प्रस्ताव तयार गर्ने तथा विभिन्न क्षेत्रबाट सुझाव संकलन गर्ने कार्यविधिबारे विस्तृत छलफल भएको बताइएको छ।
उपसमितिका सदस्य सचिव महेश बर्तौलाका अनुसार बैठकले वर्तमान संविधान कार्यान्वयनका क्रममा प्राप्त अनुभव, हासिल भएका उपलब्धि र व्यवहारमा देखिएका चुनौतीहरूको समीक्षा गर्दै संशोधन आवश्यक हुन सक्ने विषयहरूको पहिचान गर्ने दिशामा छलफल गरेको छ। यस क्रममा राजनीतिक, संवैधानिक, प्रशासनिक र कानुनी पक्षलाई आधार बनाएर अध्ययन अघि बढाउने विषयमा सहमति भएको उनले जानकारी दिए।
बैठकमा राजनीतिक दल, संवैधानिक निकाय, कानुन व्यवसायी, विषयगत विज्ञ, प्रशासनिक क्षेत्र, नागरिक समाज तथा अन्य सरोकारवालाबाट सुझाव संकलन गर्ने विधि र प्रक्रिया तय गर्ने विषयमा पनि विचार–विमर्श भएको थियो। प्राप्त सुझावलाई विषयगत रूपमा वर्गीकरण गरी त्यसको तथ्य, तर्क र औचित्यका आधारमा संशोधन प्रस्ताव तयार पार्ने तयारी गरिएको एमालेले जनाएको छ।
बैठकमा संयोजक अग्नि खरेलसँगै सदस्यहरू महेश बर्तौला, रमेश बडाल, टिकराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सहभागी थिए। पूर्वकानुनमन्त्री माधवप्रसाद पौडेलले पनि संविधानसम्बन्धी विज्ञका रूपमा बैठकमा सहभागिता जनाएका थिए।









Facebook Comments