
काठमाडौं ।नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। समूहले पार्टीको पछिल्लो राजनीतिक अवस्था र आन्तरिक विवादबारे छलफल गर्दै आगामी रणनीति तय गर्न भेला बोलाएको जनाएको छ।
बीपी स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले राष्ट्रिय भेलाको घोषणा गर्दै त्यसबाट पार्टीको भावी दिशाबारे आवश्यक निर्णय लिइने बताए। उनले पार्टी नेतृत्वको भूमिकाप्रति कार्यकर्तामा बढ्दो असन्तुष्टि रहेको उल्लेख गर्दै आफूहरू निष्क्रिय नभई परिस्थितिलाई नजिकबाट नियाल्दै आएको बताए।
कार्यक्रममा सहभागी संस्थापन इतर पक्षका नेताहरूले पार्टीभित्र सहमति कायम गर्न अझै प्रयास जारी रहने जनाए। तर साउन २९ अघि सभापति गगन थापासँग सहमति हुन नसके संगठनात्मक रूपमा नयाँ निर्णय लिनुपर्ने अवस्था आउन सक्ने संकेत पनि उनीहरूले दिएका छन्।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि कार्यक्रममा बोल्दै सम्मान र स्वाभिमानमा सम्झौता गरेर कुनै पनि निर्णय स्वीकार नगर्ने अडान दोहोर्याए। उनले पार्टीको एकता चाहेको भए पनि आत्मसम्मान त्यागेर समर्पण गर्ने विकल्प स्वीकार्य नहुने बताएका थिए।
संस्थापन इतर पक्षले राष्ट्रिय भेलालाई पार्टीभित्रको पछिल्लो विकसित राजनीतिक परिस्थितिको समीक्षा गर्दै भावी रणनीति तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरेको छ।









Facebook Comments