
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीले आफ्नो वैचारिक आधार स्पष्ट गर्नुपर्ने आवश्यकता औंल्याउँदै बीपी कोइरालाले स्थापित गरेको प्रजातान्त्रिक समाजवादबाट कांग्रेस विचलित हुन लागेको हो कि भन्ने प्रश्न उठाएका छन्।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा काठमाडौंको प्रज्ञा भवनमा संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले पछिल्लो समय पार्टीभित्र उठाइएको **‘सामाजिक लोकतन्त्र’**को अवधारणाप्रति प्रश्न गर्दै त्यसको उद्देश्य स्पष्ट पार्न नेतृत्वसँग माग गरे।
उनले ‘नेपाली कांग्रेस २.०’ भन्ने अवधारणा पनि सार्वजनिक रूपमा चर्चा भइरहेकाले त्यसको वास्तविक अर्थ र दिशाबारे पार्टी कार्यकर्तालाई स्पष्ट जानकारी दिनुपर्ने बताए। विशेष अधिवेशनमा सभापति गगन थापाले सामाजिक लोकतन्त्रको अवधारणा अघि सारेको उल्लेख गर्दै उनले कांग्रेसले आफ्नो पुरानो वैचारिक मार्ग परिवर्तन गर्न खोजेको हो भन्ने जिज्ञासा व्यक्त गरे।
कोइरालाले प्रजातान्त्रिक समाजवाद र सामाजिक लोकतन्त्र नामले मिल्दोजुल्दो देखिए पनि दुवै अवधारणाको वैचारिक आधार र राजनीतिक दृष्टिकोण फरक रहेको दाबी गरे। कांग्रेसको पहिचान बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादसँग जोडिएको उल्लेख गर्दै त्यसलाई त्याग्ने कुनै औचित्य नरहेको उनको भनाइ थियो।
कार्यक्रममा पूर्वउपसभापति बिमलेन्द्र निधिले पनि कांग्रेसले प्रजातान्त्रिक समाजवादको मूल विचारबाट पछि हटेर सामाजिक लोकतन्त्रलाई प्राथमिकता दिए त्यसले पार्टीलाई वैचारिक रूपमा पछाडि धकेल्ने धारणा राखेका थिए।









Facebook Comments