
काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले शाहको पक्षमा प्रारम्भिक सुनुवाइ गर्दै सरकार र प्रहरी प्रशासनका नाममा उक्त आदेश जारी गरेको हो। अदालतको यो आदेशसँगै आफ्नाविरुद्ध परेको कुटपिट मुद्दामा पक्राउ पर्न सक्ने जोखिमबाट सांसद शाहले तत्कालका लागि राहत पाएका छन्।
अदालतले अल्पकालीन आदेशमा मात्रै सीमित नरहेर विषयको गम्भीरतालाई ध्यानमा राख्दै मुद्दाका दुवै पक्षलाई अन्तरिम आदेशबारे छलफलका लागि समेत बोलाएको छ। न्यायाधीश मुसलमानको इजलासले छलफलका लागि दुवै पक्षलाई अदालत उपस्थित हुन आदेश दिँदै, छलफलपछि मात्र अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेबारे टुङ्गो लाग्ने स्पष्ट पारेको छ।
विवादको सुरुवात भने कपिलवस्तु जिल्ला अदालतबाट शाहविरुद्ध जारी भएको पक्राउ पुर्जीबाट भएको थियो। एक व्यक्तिमाथि कुटपिट गरेको अभियोगमा उनीविरुद्ध कपिलवस्तु प्रहरीमा उजुरी परेको थियो र सोही आधारमा जिल्ला अदालतले पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो। आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कानुनी प्रतिरक्षाका लागि सांसद शाह मंगलबार नै सर्वोच्च अदालत पुगेका थिए। उनले गृहमन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाउँदै आफूविरुद्ध जारी भएको पुर्जी गैरकानुनी र बदनियतपूर्ण रहेको दाबीसहित त्यसलाई बदर गर्न माग गर्दै रिट निवेदन दर्ता गराएका थिए।









Facebook Comments