
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशकलाई नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारो’ तथा ‘काला’ वर्षको संज्ञा दिएका छन्। उनले यस अवधिमा सिद्धान्तभन्दा सत्ता र शक्तिको राजनीति हाबी हुँदा दल र देश दुवैले ठूलो मूल्य चुकाउनुपरेको बताएका छन्।
मंगलबार काठमाडौंमा महामन्त्री गुरु घिमिरेद्वारा लिखित ‘बुद्ध, वीपी र आजका नेता’ तथा ‘लिलिपुटका लघुमानव’ पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै थापाले विगत १० वर्षको राजनीतिक अभ्यासप्रति असन्तुष्टि व्यक्त गरे।
उनले दलका नेताहरू सत्ता प्राप्ति र संरक्षणमै केन्द्रित हुँदा नागरिकका अपेक्षा, राष्ट्रिय मुद्दा र राजनीतिक आदर्शलाई पछाडि पारिएको आरोप लगाए। उनका अनुसार यही प्रवृत्तिले कांग्रेसको वैचारिक पहिचानसमेत कमजोर बनाएको छ।
थापाले आफू भने सुरुदेखि नै सिद्धान्तको राजनीतिमा विश्वास गर्ने कार्यकर्ता भएको उल्लेख गर्दै कठिन परिस्थितिमा पनि आफ्नो अडान नछाडेको बताए। सिद्धान्तका लागि संघर्ष र त्याग गर्नुपर्ने अवस्था आए पनि त्यसबाट पछि नहट्ने प्रतिबद्धता उनले दोहोर्याए।
उनले पछिल्लो दशकको राजनीतिक अभ्यासले नयाँ पुस्तामा राजनीतिप्रति सकारात्मक सन्देश दिन नसकेको स्वीकार गरे। युवा पुस्तालाई कांग्रेसको वैचारिक धरातल र राजनीतिक मूल्यबारे विश्वस्त पार्न पार्टीले आत्मसमीक्षा गर्दै नयाँ ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
थापाले कांग्रेसले अब सत्ता केन्द्रित राजनीतिभन्दा नीति, सिद्धान्त र जनविश्वासलाई प्राथमिकतामा राख्दै संगठन पुनर्निर्माण गर्नुपर्नेमा जोड दिए।









Facebook Comments