धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गरेका छन्। पार्टीभित्र पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र विभाजनको चर्चाबीच उनले सदस्यता नवीकरण गरेपछि यसलाई अर्थपूर्ण राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

कांग्रेस स्रोतका अनुसार शाहले कैलालीको लम्कीचुहा नगरपालिका–१ बाट आफ्नो क्रियाशील सदस्यता नवीकरण गरेका हुन्। उनले साउन ३ गते नै सदस्यता अध्यावधिक प्रक्रिया पूरा गरेका थिए। पार्टीले समयसीमा पटक–पटक थपेपछि उनले अन्तिम चरणमा सदस्यता नवीकरण गरेको जनाइएको छ।

ad

पार्टीभित्र शेरबहादुर देउवासँग निकट मानिने शाह विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकतामाथि प्रश्न उठाउने नेतामध्येका एक थिए। तर अदालतको फैसलापछि उनले गगन थापालाई पार्टी सभापतिका रूपमा स्वीकार गर्ने सार्वजनिक धारणा व्यक्त गरेका थिए।

यसअघि गगन थापाको उपस्थितिमा आयोजित कार्यक्रममा शाहले पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको योगदानबारे पार्टीले स्पष्ट मूल्यांकन गर्नुपर्ने बताएका थिए। साथै, कांग्रेसभित्र सबै धारलाई सम्मानजनक स्थान दिँदै संगठनलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा पनि उनले जोड दिएका थिए।

कांग्रेसभित्र आन्तरिक ध्रुवीकरण र सम्भावित विभाजनको चर्चा चलिरहेका बेला मुख्यमन्त्री शाहले सक्रिय सदस्यता नवीकरण गर्नुले पार्टीभित्रै रहेर राजनीतिक भूमिका निरन्तरता दिने संकेतका रूपमा विश्लेषण हुन थालेको छ।