काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहालले सम्पत्ति छानबिनका नाममा कुनै व्यक्ति वा समूहलाई छुट दिने तथा विपक्षीलाई मात्रै निशाना बनाउने अभ्यास स्वीकार्य नहुने बताएका छन्। उनले कानुन सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमाथि पनि प्रश्न उठाए।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दाहालले रास्वपा, पूर्वन्यायाधीश र पूर्वसैनिकबाहेक अन्यको मात्रै सम्पत्ति छानबिन गर्ने शैलीमा आयोग गठन गरिएको दाबी गर्दै त्यसलाई असंवैधानिक भएको टिप्पणी गरे। राज्यका संवैधानिक तथा कानुनी निकायलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्नेमा उनले जोड दिए।

ad

उनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभाग र आन्तरिक राजस्व विभागजस्ता निकायले कानुनअनुसार सम्पत्ति छानबिन गर्न सक्ने व्यवस्था रहेकाले अलग आयोग गठन गरेर राजनीतिक उद्देश्य पूरा गर्न खोज्नु उचित होइन।

दाहालले भ्रष्टाचार वा गैरकानुनी सम्पत्ति आर्जनमा संलग्न जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने बताए। उनले सत्तारूढ दलका नेता–कार्यकर्तालाई जोगाएर विपक्षीमाथि मात्रै छानबिन केन्द्रित गर्न खोजिएको आरोप पनि लगाए।

उनले गणतान्त्रिक व्यवस्थामा सबै नागरिक कानुनअघि समान हुने उल्लेख गर्दै पञ्चायतकालझैँ कसैलाई छुट र कसैमाथि मात्रै कानुन लागू गर्ने प्रवृत्ति दोहोरिन नहुने बताए।

यसैबीच दाहालले प्रदेश सरकारमा नेकपाको सहभागिताबारे पनि धारणा राख्दै संवैधानिक संकट उत्पन्न हुने अवस्था वा आफ्नो पार्टीको उपस्थितिबिना सरकार गठन हुन नसक्ने परिस्थिति आएमा मात्रै सरकारमा सहभागी हुने नीति रहेको स्पष्ट पारे।

उनले अहिलेको सत्ता समीकरण बन्नु वा भत्किनुमा नेकपाको कुनै भूमिका नरहेको दाबी गर्दै कांग्रेस र एमालेले नै बाँकी कार्यकाल प्रदेश सरकार सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे। तर नयाँ राजनीतिक सहकार्यको अवस्था सिर्जना भए एमालेसँग सहकार्य पहिलो प्राथमिकतामा रहने संकेत पनि दिए।

कार्यक्रममा नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रदेश सरकारमा देखिएको अस्थिरताको कारण कांग्रेसभित्रको आन्तरिक विवाद रहेको आरोप लगाए। उनले वर्तमान सरकारलाई निरन्तरता दिनु नै अहिलेको प्राथमिकता भएको उल्लेख गर्दै प्रदेश सरकार जोगिन नसके एमाले पनि सरकारमा निरन्तर रहने पक्षमा नरहने बताए। साथै, देखिएका विवाद आपसी सहमतिबाट छिट्टै समाधान हुने विश्वास व्यक्त गरे।