
काठमाडौं — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकारहरूमा तीन प्रमुख दलबीच सहकार्य कायम रहनुपर्ने पक्षमा एमाले रहेको बताएका छन्। उनले राजनीतिक परिस्थितिले आवश्यक ठानेमा सरकारबाट बाहिरिन पनि एमाले तयार रहेको स्पष्ट पारे।
शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले प्रदेश सरकारको समीकरणबारे दलहरूबीच अझै संवाद जारी रहेको बताए।
एमाले प्रदेश सरकारबाट बाहिरिने अवस्था बनेको हो भन्ने प्रश्नमा उनले तत्काल त्यस्तो निर्णय नभएको स्पष्ट पार्दै आवश्यक परे सरकार छाड्न तयार रहेको प्रतिक्रिया दिए।
कांग्रेस र नेकपाबीच प्रदेश सरकार सञ्चालनका लागि नयाँ सहमति भएको विषयमा आफूलाई जानकारी नभएको उल्लेख गर्दै ओलीले एमालेको प्राथमिकता भने तीन दलबीच सहकार्य कायम राख्नु रहेको बताए।
उनले अहिले पनि प्रदेश सरकारमा तीनवटै दल मिलेर अघि बढ्ने पक्षमा आफ्नो पार्टी रहेको दोहोर्याउँदै परिस्थिति अनुसार आवश्यक निर्णय लिइने संकेत गरे।










Facebook Comments