
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा दुर्घटनामा परी घाइते भएका छन्। केही दिनअघि बाथरुममा अचानक लड्दा उनको दायाँ हात भाँच्चिएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।
लामो समयदेखि स्वास्थ्य उपचारका क्रममा विदेशमा रहेका देउवाको हङकङस्थित एक स्थानीय अस्पतालमा उपचार गरिएको थियो। अस्पतालले उनको हातको आवश्यक उपचार र ब्यान्डेज गरेपछि हाल उनलाई डिस्चार्ज गरिसकेको छ। अहिले उनी हङकङमै आराम गरिरहेका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर प्रस्थान गरेका देउवा त्यहाँको उपचारपछि चैत ७ गते हङकङ पुगेका थिए। पछिल्लो समय हङकङलाई नै बसाइ बनाएका उनी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँगै सार्वजनिक स्थानहरूमा घुमफिर गरिरहेका भिडियोहरू सामाजिक सञ्जालमा देखिने गरेका थिए। उपचारकै क्रममा रहेका बेला बाथरुममा भएको यो अप्रत्याशित दुर्घटनाले उनको स्वास्थ्य लाभको प्रक्रिया केही लम्बिने देखिएको छ।










Facebook Comments