
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि सुरु गरिएको छनोट प्रक्रिया स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको त्रुटिका कारण रद्द भएको छ। लामो समयदेखि रिक्त रहेको कार्यकारी निर्देशक पद पूर्तिका लागि अघि बढाइएको आवेदन प्रक्रिया नै पुनः गर्नुपर्ने अवस्था आएको हो।
स्वास्थ्य बीमा बोर्डमा पूर्णकालीन नेतृत्व नहुँदा हाल ११औँ तहकी नर्सिङ अधिकृत सकुन्तला प्रजापतिले निमित्त कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हालिरहेकी छन्।
बोर्डको नेतृत्व चयनका लागि मन्त्रालयले गत असार २ गते १५ दिनको समय दिएर आवेदन आह्वान गरेको थियो। उक्त सूचनाअनुसार असार १६ गतेसम्म कार्यकारी निर्देशक पदका लागि १२ जना उम्मेदवारले आवेदन दिएका थिए।
आवेदन दिनेहरूमा राधेश्याम गिरी, होमनाथ गैरे, रोशनकुमार महतो, सुमनचन्द्र गुरुङ, मुक्तिनाथ खनाल, शक्ति बस्नेत, गंगप्रसाद जोशी, राजेन्द्रकुमार पोखरेल, बिमला भट्ट, पारस अधिकारी, प्रमोदकुमार यादव र दीपेन्द्रकुमार यादव रहेका थिए।
तर छनोट प्रक्रियाका क्रममा मन्त्रालयबाट जारी गरिएको सूचनामा प्राविधिक त्रुटि देखिएपछि प्रक्रिया नै रद्द गरिएको हो। मन्त्रालयले अब आवश्यक संशोधनसहित नयाँ प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।
स्वास्थ्य बीमा कार्यक्रम देशभरका नागरिकको उपचार पहुँचसँग प्रत्यक्ष जोडिएको भए पनि लामो समयदेखि बोर्ड नेतृत्वविहीन हुँदा यसको प्रभावकारिता र व्यवस्थापनमाथि प्रश्न उठ्दै आएको छ। कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया पुनः सुरु भएपछि बोर्डले स्थायी नेतृत्व पाउने अपेक्षा गरिएको छ।











Facebook Comments