
काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले पर्यटन क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै होटल व्यवसायीलाई ढुक्क भएर लगानी र व्यवसाय विस्तार गर्न आग्रह गरेका छन्। उनले पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइसकेको उल्लेख गर्दै व्यवसायीका चिन्तालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार होटल संघ नेपाल (हान)का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण साझेदारका रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए।
उनले होटल व्यवसायीलाई प्रचलित कानुनको पालना गर्दै व्यवसाय सञ्चालन गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी औपचारिक कर प्रणालीमा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत पर्यटन क्षेत्रमा सहकार्यका सम्भावनाबारे अध्ययन गर्न आग्रह गरे।
छलफलमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलसमक्ष होटल व्यवसायीहरूले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता रहेको जानकारी गराएका थिए।
हाल वार्षिक करिब १२ लाख विदेशी पर्यटक मात्र नेपाल आउने उल्लेख गर्दै व्यवसायीहरूले पर्यटक आगमन बढाउन सके होटल उद्योगले ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटाउन पनि महत्वपूर्ण योगदान पुग्ने धारणा राखेका थिए।
बैठकमा होटल संघ नेपालका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्य जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महत सहभागी थिए।










Facebook Comments