काठमाडौं। नयाँ सरकार गठनसँगै शेयर बजारमा सुधार आउने अपेक्षा गरेका लगानीकर्ताको विश्वास विपरीत नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पछिल्ला तीन महिनादेखि निरन्तर ओरालो लागेको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएयता नेप्सेमा आएको गिरावटका कारण बजार पुँजीकरण करिब ५ खर्ब ८३ अर्ब रुपैयाँले घटेको देखिएको छ।

सरकार गठनअघि २०८२ चैत १२ गते नेप्से परिसूचक २ हजार ९५० विन्दुमा पुगेको थियो। त्यसयता बजार लगातार कमजोर बन्दै जाँदा हाल परिसूचक २ हजार ५७६ विन्दुमा झरेको छ। यस अवधिमा नेप्से करिब १२.६७ प्रतिशतले घटेको छ।

ad

यस्तै, कुल बजार पुँजीकरण पनि ५० खर्ब ९ अर्ब रुपैयाँबाट घटेर ४४ खर्ब २६ अर्ब रुपैयाँमा सीमित भएको छ। यसले लगानीकर्ताको सम्पत्तिमा करिब ५ खर्ब ८३ अर्ब रुपैयाँ बराबरको ह्रास आएको देखिन्छ।

नेपाल शेयरधनी संघका अध्यक्ष जीएस पाण्डेका अनुसार बजार पुँजीकरणमा आएको यो गिरावट नेपालको वार्षिक बजेटको करिब २७ प्रतिशत बराबर हो। उनका अनुसार पुँजी बजार अर्थतन्त्रको महत्त्वपूर्ण सूचक भएकाले यसमा देखिएको निरन्तर कमजोरीले समग्र लगानी वातावरणमा असर पार्न सक्छ।

नयाँ सरकार गठनसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट तथा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल भट्टजस्ता आर्थिक क्षेत्रका विज्ञहरू नेतृत्वमा आएकाले बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको थियो। तर बजारले अपेक्षाअनुसार सुधारको संकेत दिन सकेको छैन।

बजेट सार्वजनिक भएको जेठ १५ गते नेप्से २ हजार ७६६ विन्दुमा रहेको थियो। त्यसपछि पनि बजारले निरन्तर गिरावटको क्रम कायम राखेको तथ्यांकले देखाउँछ।

बजारमा आएको निरन्तर गिरावटपछि लगानीकर्ताले नियामक निकायसँग सुधारात्मक कदम चाल्न माग गर्दै आन्दोलनसमेत सुरु गरेका छन्। मंगलबार तिलक कोइरालाको नेतृत्वमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन) कार्यालय घेराउ गर्दै बजारमा विश्वास जगाउने नीतिगत तथा व्यवहारिक निर्णय तत्काल गर्न माग गरेका थिए।

लगानीकर्ताहरूले सरकारको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको प्रभावले पनि बजारमा मनोवैज्ञानिक दबाब सिर्जना भएको बताएका छन्। यद्यपि, सेबोनका अध्यक्ष डा. गोपाल भट्टले लगानीकर्ताको मनोबल बढाउन आवश्यक रहेको र अनुसन्धानलाई बजारसँग अनावश्यक रूपमा जोडेर नहेर्न आग्रह गरेका छन्।

यसैबीच, बजार सुधारका लागि सेबोनले ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीतिअनुसार गठन हुने कार्यदलमा सेबोन, नेप्से, सीडीएससी, मर्चेन्ट बैंकर, स्टक ब्रोकर, क्रेडिट रेटिङ संस्था तथा विशिष्टीकृत कोष व्यवस्थापकका प्रतिनिधि रहनेछन्।

सेबोनले सार्वजनिक गरेको नीतिमा लगानीकर्ता संरक्षणलाई प्राथमिकता दिँदै बजारमा भ्रामक सूचना, अनधिकृत लगानी परामर्श, सामाजिक सञ्जालमार्फत हुने बजार प्रभावित गर्ने गतिविधि तथा वित्तीय ठगीविरुद्ध नियामकीय निगरानी थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ। साथै, पुँजी बजारलाई विश्वसनीय, प्रतिस्पर्धी, समावेशी र प्रविधिमैत्री बनाउने दीर्घकालीन लक्ष्यसमेत अघि सारिएको छ।