काठमाडौं । नेपाल पर्यटन बोर्डले ‘वेलनेस रिल प्रतियोगिता २०२६’ का विजेताको घोषणा गर्दै सातै प्रदेशका उत्कृष्ट भिडियो सर्जकलाई पुरस्कृत गर्ने निर्णय गरेको छ।

नेपालका वेलनेस पर्यटनका विविध पक्षलाई सिर्जनात्मक रिल भिडियोमार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा देशभरबाट उल्लेखनीय सहभागिता रहेको बोर्डले जनाएको छ। प्रतियोगितामा १ सय ११ जनाले योग, ध्यान, आयुर्वेद, आध्यात्मिक अभ्यास, प्राकृतिक उपचार, वेलनेस रिसोर्ट तथा स्वस्थ जीवनशैलीसँग सम्बन्धित नेपालको मौलिक अनुभव समेटिएका भिडियो प्रस्तुत गरेका थिए।

ad

प्राप्त भिडियोको मूल्यांकन चलचित्र निर्देशक मिनबहादुर भाम र वेलनेस विज्ञ शोभिता सिम्खडासहितको निर्णायक मण्डलले विषयवस्तु, सन्देश, प्रस्तुतीकरण, दृश्य सौन्दर्य, कथावाचन तथा प्राविधिक गुणस्तरका आधारमा गरेको थियो।

निर्णायक मण्डलको निर्णयअनुसार कोशी प्रदेशबाट मिनाकुमारी राउत, मधेसबाट सुमित्रा आचार्य, बागमतीबाट एरिक नाकर्मी, गण्डकीबाट रोशन ढकाल, लुम्बिनीबाट भास्कर महर्जन, कर्णालीबाट सन्तोष बुढा र सुदूरपश्चिमबाट हिमालय भट्ट प्रदेशस्तरीय विजेता घोषित भएका छन्। प्रत्येक विजेताले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगितामा आशा पौडेललाई उत्कृष्ट सिर्जनात्मक प्रस्तुतिका लागि जुरी अवार्ड प्रदान गरिएको छ। उक्त अवार्डअन्तर्गत उनलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ।

यस्तै, रणजित श्रेष्ठ, कैलाश कार्की, ‘घुमन्ते बुढाबुढी’, किरण अधिकारी र आश्रितलाई सिर्जनात्मक प्रस्तुति तथा प्रभावकारी कथावाचनका लागि विशेष सम्मान प्रदान गरिएको छ।

विजेता घोषणा गर्दै नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिकमतसिंह ऐरले प्रतियोगितामा प्राप्त उत्साहजनक सहभागिताले नेपालको वेलनेस पर्यटनलाई विश्व बजारमा थप परिचित गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार यस्ता सिर्जनात्मक अभियानले नेपाललाई आकर्षक वेलनेस पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्नेछ।