
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजार सुधारका लागि आगामी साताभित्र समयबद्ध कार्ययोजनासहितको विकास मार्गचित्र सार्वजनिक गरी तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ।
बिहीबार जारी विज्ञप्तिमार्फत बोर्डले धितोपत्र बजारमा देखिएका समस्या तथा लगानीकर्ताबाट प्राप्त गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बजार सुधार र लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राखेर आवश्यक तयारी भइरहेको जनाएको हो।
बोर्डका अनुसार बजारमा देखिएका संरचनागत तथा नियामकीय समस्या समाधान गर्न विस्तृत कार्ययोजनासहितको मार्गचित्र ल्याइनेछ। साथै, अनुमति प्राप्त धितोपत्र व्यवसायी तथा सम्बन्धित संस्थालाई यसअघि जारी गरिएका निर्देशन, विशेषगरी मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयन, तोकिएको समयसीमाभित्र पूरा गर्न पुनः निर्देशन दिइएको छ।
धितोपत्र बोर्डले सार्वजनिक निष्कासन प्रक्रिया, नियमन प्रणाली तथा समग्र पुँजी बजारलाई थप पारदर्शी, सुरक्षित र प्रभावकारी बनाउन विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन प्रक्रिया पनि अघि बढाइएको जनाएको छ।
बोर्डका अनुसार धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्कासन नियमावली, सूचीकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धी निर्देशिकालगायत आवश्यक कानुनी तथा नीतिगत व्यवस्थालाई समयानुकूल परिमार्जन गर्ने तयारी भइरहेको छ।
बजार सुधारका लागि कानुनी र नीतिगत दुवै तहमा काम भइरहेको उल्लेख गर्दै बोर्डले लगानीकर्तालाई अफवाह वा भ्रामक सूचनाको पछि नलाग्न आग्रह गरेको छ। साथै, लगानीसम्बन्धी निर्णय गर्दा आफ्नै अध्ययन, विश्लेषण र जोखिम बहन गर्ने क्षमताका आधारमा निर्णय लिन पनि अनुरोध गरेको छ।










Facebook Comments