
काठमाडौं। राहदानी विभागले विद्यमान प्रणालीलाई नयाँ प्रविधिमा स्तरोन्नति गर्ने तयारीस्वरूप आगामी दुई दिन नियमित राहदानी सेवा स्थगित गर्ने भएको छ।
विभागले जारी गरेको सूचनाअनुसार २०८३ असार २५ र २६ गते राहदानीसम्बन्धी नियमित सेवा उपलब्ध हुने छैन। प्रणाली परिवर्तनको काम सम्पन्न भएपछि असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत सेवा सञ्चालन गरिने विभागले जनाएको छ।
विभागका अनुसार नयाँ प्रणाली कार्यान्वयनका लागि आवश्यक प्राविधिक व्यवस्थापन गर्न सेवा अस्थायी रूपमा रोकिएको हो। यसबारे सेवाग्राहीलाई असार १९ गते नै सार्वजनिक सूचनामार्फत जानकारी गराइएको थियो।
यद्यपि, नियमित सेवा बन्द रहे पनि तयार भइसकेका राहदानी वितरणको कार्य भने यथावत् सञ्चालन हुनेछ। विभागले मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरिसकेका सेवाग्राहीलाई विभागमा उपस्थित भएर राहदानी बुझ्न आग्रह गरेको छ।
राहदानी विभागले नयाँ प्रणाली लागू भएपछि सेवा प्रवाह थप छिटो, पारदर्शी र सेवाग्राहीमैत्री हुने विश्वास व्यक्त गरेको छ।










Facebook Comments