काठमाडौं– कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान खेतीका लागि आवश्यक मलको अभाव हुन नदिन मन्त्रालयले विभिन्न माध्यमबाट आयात प्रक्रिया तीव्र बनाएको जनाएको छ।

मन्त्रालयका अनुसार सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन युरिया मल ल्याउने तयारी भइरहेको छ। यो मल असारको अन्तिमदेखि साउनको दोस्रो साताभित्र नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।

ad

भारतसँग भएको ८० हजार मेट्रिक टन मल आपूर्तिसम्बन्धी सम्झौताअनुसार पहिलो चरणमा ५० हजार मेट्रिक टन मल साउनको दोस्रो सातासम्म नेपाल भित्रिने मन्त्रालयले जनाएको छ।

यस्तै, अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (ग्लोबल टेन्डर) मार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अघि बढाइएको छ। यसमा ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया समावेश छन्। यी मलमध्ये अधिकांश साउनको पहिलो साताभित्र नेपाल ल्याउने लक्ष्य राखिएको छ।

हाल ओमानबाट पठाइएको ३० हजार मेट्रिक टन युरिया मल असारको अन्तिमसम्म कलकत्ता बन्दरगाह पुग्ने र त्यसपछि साउनको दोस्रो सातासम्म नेपाल आइपुग्ने अनुमान गरिएको छ।

त्यसैगरी, ३० हजार मेट्रिक टन डीएपी मल होर्मुज पार गरी भिसाखापट्टनम बन्दरगाह पुगिसकेको छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अनुसार उक्त मल असार १० देखि २० गतेभित्र नेपाल भित्रिनेछ।

अर्को ३० हजार मेट्रिक टन युरिया जहाजमा लोड भइसकेको छ। यो खेप साउनको पहिलो साता कलकत्ता बन्दरगाह पुग्ने र साउनको अन्तिमसम्म नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धतामा दबाब परे पनि किसानलाई आवश्यक मल उपलब्ध गराउन सरकारले आयात प्रक्रिया निरन्तर अघि बढाइरहेको मन्त्रालयले जनाएको छ।

चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमार्फत कृषकलाई उपलब्ध गराउने सरकारको लक्ष्य रहेको छ।