काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको प्रतिवेदन अपेक्षाअनुरूप नभएको भन्दै असन्तुष्टि जनाएको छ। समितिले माग गरिएका तथ्य र तथ्याङ्क समेटेर पुनः विस्तृत प्रतिवेदन पेस गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ।

मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले यसअघि असार ५ गतेको बैठकबाट तथ्य, तथ्याङ्क र आवश्यक विवरणसहितको संक्षिप्त प्रतिवेदन उपलब्ध गराउन दिएको निर्देशनअनुसार प्रतिवेदन नआएको निष्कर्ष निकालेको हो।

ad

समिति सभापति कृष्णहरि बुढाथोकीका अनुसार राष्ट्र बैंकले बुझाएको प्रतिवेदनमा समितिले माग गरेका मुख्य विषयहरू स्पष्ट रूपमा समावेश नभएकाले पुनः आवश्यक विवरणसहित प्रतिवेदन पेस गर्न निर्देशन दिने निर्णय गरिएको छ।

बैठकमा सहभागी समिति सदस्यहरूले पनि प्राप्त प्रतिवेदन अपूर्ण रहेको भन्दै त्यसलाई पर्याप्त आधार मान्न नसकिने धारणा राखेका थिए। उनीहरूले समितिको निर्देशनअनुसार आवश्यक तथ्य र विश्लेषणसहितको प्रतिवेदन पुनः माग गर्नुपर्नेमा जोड दिएका थिए।

यसैबीच, अर्थ समितिले आगामी मौद्रिक नीतिको तयारीका सन्दर्भमा विज्ञ, सरोकारवाला निकाय तथा सम्बन्धित पक्षसँग छलफल गर्ने निर्णय पनि गरेको छ। समितिले प्राप्त सुझावका आधारमा मौद्रिक नीतिसम्बन्धी विषयमा थप अध्ययन र आवश्यक परामर्श अघि बढाउने जनाएको छ।