
काठमाडौं ।वैदेशिक रोजगारीमा कामदार पठाउँदा कानुनी प्रक्रिया उल्लंघन गरी व्यक्तिगत श्रम स्वीकृति प्रयोग गर्ने म्यानपावर कम्पनीमाथि कडा कारबाही हुने भएको छ।
वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई प्रचलित कानुनविपरीत व्यक्तिगत श्रम स्वीकृति गराएर कामदार विदेश नपठाउन चेतावनी दिएको हो।
विभागले शुक्रबार सार्वजनिक गरेको सूचनामार्फत यस्तो गतिविधिमा संलग्न भएको पाइएमा सम्बन्धित कम्पनीमाथि कानुनअनुसार हदैसम्मको कारबाही गरिने स्पष्ट पारेको छ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा २१ को उपदफा (३) अनुसार इजाजतप्राप्त संस्थाले व्यक्तिगत श्रम स्वीकृति गराई कामदार विदेश पठाउन पाउँदैनन्। विभागले सोही कानुनी व्यवस्थाको स्मरण गराउँदै म्यानपावर कम्पनीहरूलाई नियमको पालना गर्न आग्रह गरेको छ।
यसैबीच, युरोपसहित विभिन्न मुलुकमा वैदेशिक रोजगारीका लागि जाने कामदारलाई सम्बन्धित म्यानपावर कम्पनीले उक्त देशमा कामदार पठाउन विभागबाट पूर्वस्वीकृति लिएको छ वा छैन भन्ने विषयमा अनिवार्य जानकारी लिन विभागले अनुरोध गरेको छ।
त्यस्तै, कुनै म्यानपावर कम्पनी, संस्था, कन्सल्टेन्सी वा व्यक्तिले व्यक्तिगत श्रम स्वीकृति गराएर विदेश पठाइदिने भन्दै रकम माग्ने वा आर्थिक कारोबार गर्न खोजेमा तत्काल विभागलाई जानकारी गराउन पनि आग्रह गरिएको छ।
कानुनविपरीत हुने यस्ता गतिविधिबारे सूचना दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राखिने विभागले जनाएको छ।
विभागको यो चेतावनीले वैदेशिक रोजगारीका नाममा हुने गैरकानुनी कारोबार नियन्त्रण गर्न र कामदारलाई सम्भावित ठगीबाट जोगाउन कानुनी प्रक्रिया पालना गर्नुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ।









Facebook Comments