काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिकाबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।


कांग्रेसकै आह्वानमा गत कात्तिक १७ गते बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद् र संसदीय समितिको बैठक बोलाउन माग गरेअनुसार मंगलबार सार्वजनिक लेखा समितिको बैठक बसेर सरकारलाई सातबुँदे निर्देशन दिएको पृष्ठभूमिमा आङ्देम्बेले प्रधानमन्त्री कार्यालयका पदाधिकारीमाथि पनि छानबिन हुनुपर्ने माग गरेका हुन् ।

ad

उनले आयोजनाका कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा मानसिक यातना दिइएको र पर्याप्त कानुनी आधारबिना ठेक्का रद्द गरिएको भन्दै छानबिन आवश्यक रहेको बताए ।

उनले बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्–‘ठेक्का रद्द गर्ने अधिकार सरकारसँग होला तर कानुन कुल्चिने अधिकार छैन । यस घटनामा प्रधानमन्त्री कार्यालयको भूमिका र निर्णय प्रक्रियाबारे स्वतन्त्र तथा निष्पक्ष छानबिन हुनुपर्छ । ’ 

आङ्देम्बेले प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई थुनेर मानसिक यातना दिने ठाउँ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । ‘प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई थुनेर मानसिक यातना दिने यातनागृह ?’ उनले प्रश्न गरेका छन्, ‘कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय गराउन कसले निर्देशन दियो ? ठेक्का रद्द गर्ने कानुनी आधार के हो रु राज्यलाई हुने आर्थिक क्षतिको जिम्मेवारी कसले लिने ?

मंगलबारको समिति बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले ठेक्का रद्द गर्ने सन्दर्भमा सरकारको कार्यशैली, सार्वजनिक खरिद ऐनको उल्लङ्घन र राज्यशक्तिको दुरुपयोगबारे प्रश्न उठाएका थिए । समितिले सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सरकारलाई निर्देशनसमेत दिएको छ । यस्तो अवस्थामा आङ्देम्बेले प्रधानमन्त्री कार्यालयका पदाधिकारीलाई छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

मधेसका पाँच जिल्लाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ पुर्‍याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको यो राष्ट्रिय गौरवको आयोजनाको १३ दशमलव ३ किलोमिटर सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ । यस्तो महत्त्वपूर्ण आयोजनालाई सरकारी मनपरी र प्रशासनिक हस्तक्षेपको सिकार बनाइएको भन्दै आङ्देम्बेले असन्तुष्टि जनाएका छन् ।