काठमाडौं।गृहमन्त्री सुधन गुरुङकी आमा ज्ञानु लामा (ज्वालादेवी चण्डिमाता) को भिडिओ अनुमति बिना खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कालीकोट घर भई भक्तपुरमा बस्दै आएका छत्र बोगटी रहेका छन्। उनलाई भक्तपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

ad

प्रहरीका अनुसार बोगटीमाथि व्यक्तिगत गोपनीयताको हक उल्लंघन गरेको आरोपमा अनुसन्धान भइरहेको छ। उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

गृहमन्त्रीकी आमा लामाले आफ्नो इच्छाविपरीत भिडिओ खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले बोगटीलाई नियन्त्रणमा लिएको हो।

केही दिनअघि लामासँग गरिएको कुराकानीको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक चर्चा भएको थियो। उक्त भिडिओमा उनले आफ्ना तीन सन्तानमध्ये छोरा सुधन गुरुङ अहिले गृहमन्त्री भए पनि आफूहरूको नियमित भेटघाट नहुने बताएकी थिइन्।

उनका अनुसार छोरासँग कहिलेकाहीँ काम परेको बेला फोनमा कुराकानी हुने गरेको छ। आफूलाई छोराछोरीको आर्थिक सहयोग आवश्यक नरहेको उल्लेख गर्दै कुनै समस्या परेमा मात्रै उनीहरूले सहयोग गर्ने गरेको उनको भनाइ थियो।

छोरालाई भेट्न किन नजानुभएको भन्ने प्रश्नमा उनले आफ्नो व्यवस्था मिलिसकेपछि भेट्न बोलाउने बताएकी थिइन्।

भिडिओ सार्वजनिक भएपछि लामाले अर्को भिडिओमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेकी थिइन्। उनले आफूले औपचारिक अन्तर्वार्ताका लागि अनुमति नदिएको र सामान्य कुराकानी भइरहेका बेला लुकेर भिडिओ खिचिएको दाबी गरेकी थिइन्।

उनले कसैको व्यक्तिगत जीवन र गोपनीयतामा असर पर्ने सामग्री सार्वजनिक नगर्न आग्रह गर्दै त्यसले सम्बन्धित व्यक्तिलाई मानसिक तनाव दिन सक्ने बताएकी थिइन्। आर्थिक लाभका लागि अरूको निजी जीवन सार्वजनिक गर्नु उचित नभएको उनको भनाइ थियो।

गृहमन्त्री निकट स्रोतका अनुसार सुधन सानै हुँदा उनकी आमाले घर छाडेकी थिइन्। त्यसपछि उनलाई मावली परिवारले हुर्काएको बताइएको छ।

पक्राउ परेका बोगटी गायन तथा डिजिटल सामग्री निर्माणमा समेत सक्रिय छन्। उनी नेपाली लोक तथा देउडा गायक र संगीतकारका रूपमा परिचित छन्। उनले गायिका अञ्जु पन्तलगायतका कलाकारसँग सहकार्य गरी गीत सार्वजनिक गरेका छन्। आफ्नै युट्युब च्यानलमार्फत पनि उनी विभिन्न सामग्री उत्पादन गर्दै आएका छन्।

बोगटीमाथि लागेको आरोपबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।