
काठमाडौं । जापानको मध्य क्षेत्रमा आइतबार बिहान गएको ५.७ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा २४ जना घाइते भएका छन्। भूकम्पका कारण घर तथा पसलका झ्यालका सिसा फुट्नुका साथै रेल सेवासमेत प्रभावित भएको छ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समयअनुसार बिहान १ बजेर ४ मिनेटमा टोकियोको पश्चिममा पर्ने सिजुओका आसपास भूकम्प गएको हो। भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन।
भूकम्पबाट हालसम्म मानवीय क्षति भएको खबर सार्वजनिक भएको छैन। तर विभिन्न स्थानमा भवनका सिसा फुटेका छन् भने पसल तथा घरभित्र राखिएका सामान खसेर क्षति पुगेको छ।
आइची क्षेत्रका आपत्कालीन सेवा अधिकारीका अनुसार उक्त क्षेत्रमा १६ जना सामान्य घाइते भएका छन्। छिमेकी सिजुओका क्षेत्रमा पनि कम्तीमा तीन महिला उपचारका लागि अस्पताल पुगेका छन्। घाइतेमध्ये ९० वर्ष उमेर समूहकी एक महिला भूकम्पको धक्काले ओछ्यानबाट खस्दा काँधमा चोट लागेको बताइएको छ।
स्थानीय सञ्चारमाध्यम चुनिची सिम्बुन र तोकाई टेलिभिजनले आइची तथा सिजुओका क्षेत्रमा गरी कम्तीमा २४ जना घाइते भएको जनाएका छन्।
भूकम्पको प्रभाव विभिन्न सहरमा देखिएको छ। आइचीको तोयोहासीस्थित एउटा कार प्रदर्शनी केन्द्रका झ्यालका सिसा फुटेका छन्। टोयोटा सहरको एक ठूलो पुस्तक पसलमा दराजमा राखिएका किताब तथा अन्य सामग्री भुइँमा खसेका छन्।
भूकम्पपछि आइतबार बिहान क्षेत्रीय रेल सेवा र सिन्कान्सेन बुलेट रेलको सञ्चालनमा अवरोध आएको थियो। केही रेल सेवा अस्थायी रूपमा रोकिँदा यात्रु प्रभावित भएका थिए। भूकम्पको धक्का ओसाकासम्म महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
ओसाकामा समेत भूकम्पका कारण एक विदेशी नागरिक आत्तिएर अपार्टमेन्टको दोस्रो तलाबाट खसेपछि अस्पताल भर्ना भएका छन्। घटनाबारे स्थानीय अधिकारीबाट विस्तृत विवरण भने सार्वजनिक भएको छैन।
यसैबीच, जापानको कुमामोतो क्षेत्रमा पनि आइतबार बिहान ४.३ म्याग्निच्युडको अर्को भूकम्प गएको मौसम विज्ञान एजेन्सीले जनाएको छ। उक्त भूकम्पबाट ठूलो क्षति वा मानवीय चोटपटक भएको विवरण तत्काल प्राप्त भएको छैन।
प्रशान्त महासागरको भूकम्पीय जोखिमयुक्त 'रिङ अफ फायर' क्षेत्रमा अवस्थित जापानमा नियमित रूपमा भूकम्प जाने गर्छ। यसअघि सन् २०११ मा जापानमा ९ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको थियो। त्यसपछि आएको सुनामीमा करिब १८ हजार ५०० जनाको मृत्यु भएको वा उनीहरू बेपत्ता भएका थिए। उक्त प्राकृतिक विपत्तिले फुकुसिमा आणविक केन्द्रमा समेत गम्भीर क्षति पुर्याएको थियो।(एजेन्सी)









Facebook Comments