
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको संगठनात्मक अवस्था सुदृढ गर्दै आगामी निर्वाचन र राजनीतिक आन्दोलनका लागि तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
शनिबार बसेको एमाले वाग्मती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीको राजनीतिक प्रभाव पुनः स्थापित गर्न दुवै मोर्चामा सक्रिय हुनुपर्ने बताएका हुन्।
एमाले कमजोर भयो वा समाप्त हुँदैछ भन्ने भाष्यलाई गलत साबित गर्न पार्टीले आफ्नो वैचारिक, सांगठनिक र राजनीतिक क्षमता व्यवहारबाटै देखाउनुपर्ने उनको भनाइ थियो। केन्द्रीय कमिटीले आन्दोलन र निर्वाचनलाई पार्टीका दुई मुख्य कार्यभारका रूपमा निर्धारण गरेको उल्लेख गर्दै उनले त्यसअनुसार तयारी अघि बढाउन आग्रह गरे।
ओलीले पार्टीका सबै जनवर्गीय, पेसागत तथा सामुदायिक संगठनलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए। कुनै पनि संगठन निष्क्रिय अवस्थामा रहन नहुने भन्दै उनले संगठनभित्र देखिएका कमजोरी सुधार्न निर्देशन दिए।
पार्टीप्रति नेता तथा कार्यकर्ताको निष्ठामाथि समेत प्रश्न उठाउँदै ओलीले व्यक्तिगत स्वार्थ र अवसरका आधारमा पार्टीमा आबद्ध हुने प्रवृत्ति त्याग्नुपर्ने बताए। पार्टीको जिम्मेवारीमा रहेकाहरूमा निःसर्त प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ थियो।
विशेषगरी वाग्मती प्रदेशमा एमालेको संगठनात्मक अवस्था अपेक्षाकृत कमजोर बनेको ओलीले स्वीकार गरे। विगतमा राजधानीसहित प्रदेशका विभिन्न क्षेत्रमा बलियो प्रभाव रहेको पार्टी पछिल्लो समय पछाडि परेको भन्दै उनले पुरानो राजनीतिक आधार फर्काउन अभियान सञ्चालन गर्नुपर्ने बताए।
सम्बोधनका क्रममा ओलीले पछिल्लो राजनीतिक परिस्थितिमा मतदाताले उम्मेदवारको पृष्ठभूमि, विचार, इतिहास र आचरणभन्दा पनि प्रचार तथा लहैलहैका आधारमा धारणा बनाउने गरेको टिप्पणी गरे। उनले राजनीतिक भ्रम चिर्दै जनतालाई पार्टीको विचार र कामबारे बुझाउने जिम्मेवारी एमाले कार्यकर्ताको भएको बताए।
युवा पुस्तालाई पार्टी संगठनमा जोड्ने विषयलाई पनि ओलीले प्राथमिकतामा राखेका छन्। युवालाई कार्यकर्ता बनाएर परिचालन गर्न सके मात्रै पार्टीले अपेक्षित सफलता हासिल गर्न सक्ने उनको धारणा थियो।
आगामी दिनमा एमालेले संगठन विस्तार, युवा परिचालन, राजनीतिक आन्दोलन र निर्वाचन केन्द्रित गतिविधिलाई एकसाथ अघि बढाउनुपर्ने ओलीको निर्देशन छ।








Facebook Comments