
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद नरहेको स्पष्ट पार्दै आन्तरिक छलफल, सुझाव र आलोचनालाई फुटको संकेतका रूपमा व्याख्या नगर्न आग्रह गरेका छन्।
शनिबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै लामिछानेले सरकारलाई पार्टीभित्रबाट दिइने सुझाव र आलोचनाका विषयमा अनावश्यक चर्चा हुने गरेको बताए। यस्ता विषयलाई विवादका रूपमा प्रचार गरिए पनि त्यसमा विश्वास गर्नुपर्ने आधार नरहेको उनको भनाइ थियो।
उनले सरकार आफ्ना प्रतिबद्धता पूरा गर्ने दिशामा केन्द्रित भएर काम गरिरहेको उल्लेख गरे। पार्टीले आफ्नै नेतृत्वको सरकारलाई आवश्यक सुझाव दिनु र कमजोरी औंल्याउनु आन्तरिक लोकतन्त्रको अभ्यास भएको उनले बताए।
लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्ने पार्टी भएकाले रास्वपाभित्र फरक मत, बहस र आलोचनालाई स्वाभाविक रूपमा लिइने लामिछानेको भनाइ थियो। आन्तरिक बहसले पार्टीलाई कमजोर नभई थप जिम्मेवार बनाउने उनको आशय थियो।
कार्यक्रममा उनले मधेशको विकास र जनताको जीवनस्तरमा सुधार ल्याउने विषयलाई पनि प्राथमिकताका साथ उठाए। यसपटक जनताले रास्वपालाई काम गर्ने अवसर दिएको उल्लेख गर्दै उनले प्राप्त जनमतको सम्मान गर्नुपर्ने बताए।
मधेशका नागरिकले परिवर्तनको अनुभूति गर्न नसके आगामी निर्वाचनमा आफू मत माग्न नआउने लामिछानेले प्रतिबद्धता व्यक्त गरे। जनतालाई आश्वासन दिएर मात्रै मत माग्ने राजनीतिक संस्कार आफूलाई स्वीकार्य नहुने उनको भनाइ थियो।
मधेशका जनताले परिवर्तनको आशा र विश्वासका साथ दिएको अवसरलाई निराशामा बदल्न नहुने भन्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई जिम्मेवार भएर काम गर्न आग्रह गरे।
लामिछानेले जनताको विश्वासलाई व्यवहारमा रूपान्तरण गर्नु नै अहिले रास्वपा नेतृत्वको मुख्य जिम्मेवारी रहेको सन्देश दिएका छन्।








Facebook Comments