काठमाडौं। नेपालीहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको अवसरमा आज देशभर उत्साहका साथ कुकुर तिहार र लक्ष्मीपूजा पर्व एकसाथ मनाइँदैछ।

हिन्दू धर्मशास्त्रअनुसार कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा सम्मान गर्दै आज बिहानैदेखि घरपालुवा तथा सडकका कुकुरहरूलाई नुहाइदिएर टीका, माला लगाई मीठा परिकार खुवाएर पूजा गरिएको छ।

ad

यमलोकको द्वारमा रहने श्याम र सबल नामका कुकुरले यमराजको सन्देशवाहकको रूपमा काम गर्ने धार्मिक मान्यता रहेकाले कुकुरलाई पूजा गर्दा यमराज प्रसन्न भई परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ। सुरक्षा, खोज तथा उद्धार र अपराध अनुसन्धानमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने कुकुरको यस दिन विशेष कदर गरिन्छ।

यसैबीच, आज कार्तिक कृष्ण औँसीका दिन साँझ घरघरमा धनधान्यकी देवी लक्ष्मीको विधिपूर्वक आराधना गरी लक्ष्मीपूजा भव्य रूपमा मनाइँदैछ। लक्ष्मीपूजाका दिन घर, आँगन तथा पसलहरू सफा सुग्घर गरी दीपावलीका साथ लक्ष्मीको पूजा गर्ने परम्परा छ।

साँझको समयमा घरको मूलढोकादेखि पूजा कोठासम्म दीप प्रज्वलन गरी झिलिमिली बनाइन्छ भने घरमा लक्ष्मीको प्रवेश होस् भन्ने विश्वासका साथ मूलढोका र आँगनमा रङ्गोली तथा लक्ष्मीका पाइला बनाउने चलन रहेको छ। यस दिन लक्ष्मी, गणेश र सरस्वतीको पूजा गरी सुख, शान्ति र समृद्धिको कामना गरिन्छ।

लक्ष्मीपूजाका अवसरमा घरघरमा सेलरोटी, अर्सा र अनर्सालगायतका परम्परागत परिकारहरू तयार पारिन्छन्। साँझपख बालबालिका तथा युवायुवतीहरू समूह बनाएर घरघरमा भैलो खेल्दै ‘भैलिनी आयौँ आँगन...’ भन्दै गाउँघरदेखि सहरबजारसम्म तिहारको रौनक थप्ने गर्छन्।

केराका थम्बाले घरको मूलद्वार सजाउने, दियो बाल्ने, पटाका पड्काउने र विभिन्न रङका बत्तीहरूले घरआँगन उज्यालो बनाउने गरिन्छ। माता लक्ष्मी पृथ्वीमा आएर घरघरमा बास गरी सुख र समृद्धिको आशीर्वाद दिने धार्मिक विश्वासका साथ मनाइने तिहारको यो विशेष दिनले धार्मिक आस्था, पारिवारिक भेटघाट र आपसी सद्भावलाई अझ प्रगाढ बनाउँछ।