
काठमाडौं । दसैँ र तिहारजस्ता ठूला चाडपर्वमा काठमाडौं उपत्यकामा फोहोरको मात्रा बढ्ने भए पनि यही समयमा फोहोर व्यवस्थापन प्रभावित हुने गरेको छ। यस वर्ष पनि दसैँमा तीन दिन फोहोर विसर्जन रोकिएको थियो भने तिहारमा दुई दिन बन्चरेडाँडा ल्यान्डफिल साइट बन्द हुने भएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ।
काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै तिहारका अवसरमा कात्तिक २४ र २५ गते बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन नहुने जनाएको छ। यसअघि दसैँका बेला पनि कात्तिक १, ३ र ४ गते फोहोर विसर्जन रोकिएको थियो।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले जारी गरेका सूचनामा ल्यान्डफिल साइटमा कार्यरत कर्मचारी चाडपर्वको बिदामा रहने भएकाले फोहोर व्यवस्थापन प्रभावित हुने उल्लेख छ। तर फोहोर विसर्जन रोकिनुको कारण कर्मचारीको बिदा मात्रै नभई ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयको असहमति पनि रहेको खुलेको छ।
काठमाडौं महानगरपालिकाकी वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईका अनुसार बन्चरेडाँडा क्षेत्रका स्थानीयले दसैँदेखि तिहारसम्म चाडपर्वको अवधिभर फोहोर ल्याउन नदिन दबाब दिँदै आएका छन्। स्थानीयको अवरोधलाई सार्वजनिक सूचनामा प्रत्यक्ष उल्लेख गर्न कठिन हुने भएकाले कर्मचारीको बिदालाई मुख्य कारण बनाएर सूचना जारी गर्ने गरिएको उनको भनाइ छ।
राईका अनुसार स्थानीयको मागअनुसार करिब एक महिनासम्म फोहोर विसर्जन पूर्ण रूपमा रोक्न महानगरपालिकाका लागि सम्भव छैन। विशेषगरी लक्ष्मीपूजापछि काठमाडौंमा ठूलो परिमाणमा फोहोर जम्मा हुने भएकाले त्यसको व्यवस्थापन तत्काल गर्नुपर्ने बाध्यता महानगरलाई छ।
उनले स्थानीयबाट अवरोध नभए चाडपर्वमा पनि नियमित रूपमा फोहोर संकलन र व्यवस्थापन गर्ने महानगरको तयारी रहने बताइन्। चाडपर्वका बेला स्थानीयसँग विवाद बढाउनुको सट्टा केही दिन फोहोर विसर्जन रोक्नुपर्ने अवस्था आउने गरेको उनको भनाइ छ।
बन्चरेडाँडा प्रभावित क्षेत्रका बासिन्दाले चाडपर्वको समयमा घरअगाडि फोहोर बोकेका गाडी आवतजावत गर्दा आफ्नो उत्सव र रमाइलोमा असर पर्ने भन्दै उक्त अवधिमा फोहोर नल्याउन आग्रह गर्दै आएका छन्।
यसरी काठमाडौंको फोहोर व्यवस्थापनमा देखिएको समस्या कर्मचारीको बिदासँग मात्र सम्बन्धित नभई ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयको माग र महानगरपालिकाबीचको व्यवस्थापन चुनौतीसँग पनि जोडिएको देखिन्छ।
फोहोर विसर्जन नहुने दिनका लागि महानगरपालिकाले घर, कार्यालय तथा व्यवसायबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गरी आफ्नै घर वा परिसरभित्र सुरक्षित रूपमा राख्न नगरवासीलाई आग्रह गरेको छ।
चाडपर्वमा फोहोर उत्पादन बढ्ने तर व्यवस्थापनको काम रोकिने अवस्थाले काठमाडौंको सरसफाइमा पटकपटक समस्या निम्त्याउँदै आएको छ। यसको दीर्घकालीन समाधानका लागि महानगरपालिका र ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ।








Facebook Comments