
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३२ जिल्लाका २ हजार २९४ जनाको नामावली सार्वजनिक गरेको छ।
सम्बन्धित जिल्लाका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट प्राप्त विवरण रुजु गरी प्राधिकरणले बेपत्ता व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो। सार्वजनिक विवरणअनुसार सबैभन्दा धेरै बेपत्ता हुनेमा रसुवाका १ हजार ५८३ जना रहेका छन्।
प्राधिकरणले सार्वजनिक गरेको सूचीमा ताप्लेजुङ, धनकुटा, खोटाङ, भोजपुर, तेह्रथुम, उदयपुर, सप्तरी, सर्लाही, महोत्तरी, कपिलवस्तु, ललितपुर, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, नवलपरासी पूर्व र पश्चिम, काभ्रेपलाञ्चोक, रुकुम पूर्व, बर्दिया, स्याङ्जा, दाङ, जाजरकोट, कैलाली, बागलुङ, अछाम, जुम्ला, बाजुरा, कालीकोट र डडेल्धुराका नागरिकसमेत समेटिएका छन्।
यसैगरी, प्राधिकरणले सात देशका १७१ जना विदेशी नागरिकको बेपत्ता सूचीसमेत सार्वजनिक गरेको छ। बेपत्ता व्यक्तिहरूको विस्तृत विवरण प्राधिकरणको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ।
प्राधिकरणले सूचना जारी गर्दै सूचीमा नाम समावेश भएका व्यक्ति जीवित रहेको वा फेला परेको भए सम्बन्धित व्यक्ति स्वयं वा निजको एकाघरका परिवारका सदस्यले सात दिनभित्र दाबी पेस गर्न आग्रह गरेको छ।
स्वदेशी नागरिकको विवरण सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा तयार पारिएको प्राधिकरणले जनाएको छ। विदेशी नागरिकको हकमा भने सम्बन्धित देशको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट कन्सुलर सेवा विभागमार्फत प्राप्त विवरणका आधारमा सूची तयार गरिएको हो।
३२ जिल्लाबाहेक अन्य जिल्लाका बेपत्ता व्यक्तिहरूको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएपछि थप सूची सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ। विदेशी नागरिकको थप विवरण प्राप्त भएमा पनि पुनः सूचना जारी गरिनेछ।
प्राधिकरणको तथ्याङ्कअनुसार गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी हालसम्म १ हजार ४५७ जनाको मृत्यु भएको छ भने ५ हजार २८५ जना बेपत्ता भएका छन्। बेपत्ता भनिएका व्यक्तिमध्ये हालसम्म यकिन भएका २ हजार २९४ जनाको विवरण मात्रै सार्वजनिक गरिएको प्राधिकरणले स्पष्ट पारेको छ।









Facebook Comments