काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो तथा महत्त्वपूर्ण चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन आज घर–घरमा कागको पूजा गरी काग तिहार मनाइँदै छ ।

कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारमा कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गर्ने धार्मिक परम्परा रहेको छ । यस दिन कागलाई पूजा नगरे र खान नदिए पाप लाग्ने धार्मिक विश्वाससमेत रहिआएको छ ।

ad

काग तिहारका अवसरमा बिहानै घरआँगनमा कागलाई बोलाएर खानेकुरा दिने चलन छ। घरमा तयार गरिएका मिठा परिकार कागलाई चढाएर पूजा गर्ने गरिन्छ ।

धार्मिक मान्यताअनुसार कागलाई अशुभ सन्देश प्रवाह गर्ने पक्षीका रूपमा लिइने भए पनि यमराजको दूतका रूपमा यसको विशेष महत्त्व रहेको छ । धर्मशास्त्रहरूमा नरक लोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म र मृत्युको विवरण राख्ने उल्लेख गरिएको छ ।

त्यस्तो विवरण आदानप्रदान गर्ने जिम्मेवारी कागले पाएको धार्मिक विश्वास छ। आकाशमार्गबाट छिटो सन्देश पु¥याउन र ल्याउन सक्ने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको पौराणिक मान्यता रहेको छ।

काग तिहारसँगै सुरु हुने तिहार पर्वले नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक सम्बन्ध, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने गर्दछ।