काठमाडौं । सञ्चारमाध्यममाथि सरकारी नियन्त्रण र हस्तक्षेपको प्रयास भएको भन्दै त्यसको विरोधमा शनिबार काठमाडौंको माइतीघर मण्डलमा युवाहरूले प्रदर्शन गरेका छन्।

‘स्वतन्त्र प्रेसका पक्षमा स्वतन्त्र युवा अभियान’को आयोजनामा भएको प्रदर्शनमा सहभागी युवाहरूले कालो पोसाक लगाएर प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाएका थिए।

ad

प्रदर्शनकारीहरूले विभिन्न नारासहितका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले ‘सञ्चारगृहमाथिको हस्तक्षेप किन, जवाफ खोइ सरकार?’, ‘लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’, ‘प्रश्न सोध्ने कलम चाहिन्छ’ र ‘सरकारको भजन गाउने मुखपत्र होइन’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सञ्चारमाध्यमको स्वायत्तताको पक्षमा आयोजित प्रदर्शनमा सहभागीहरूले सञ्चारगृहमाथि हुने हस्तक्षेप तथा पत्रकारितामाथिको दबाबप्रति असन्तुष्टि जनाएका थिए।

उनीहरूले लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यमले सरकारका कामकारबाहीमाथि प्रश्न उठाउन पाउनुपर्ने र प्रश्न गर्ने पत्रकारितालाई नियन्त्रण गर्ने प्रयास स्वीकार्य नहुने सन्देश दिएका छन्।