काठमाडौं । नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई रेलमार्गबाट जोड्ने तयारीस्वरूप जनकपुरधामदेखि भारतको अयोध्यासम्म सञ्चालन गर्ने भनिएको विशेष रेल सेवाको परीक्षण गरिएको छ।

बिहीबार भारतीय रेलको दुईवटा इन्जिन र सातवटा बोगीसहितको टोलीले भारतको जयनगरदेखि नेपालको जनकपुरधामस्थित कुर्था स्टेसनसम्म रेल सञ्चालन गरेर परीक्षण गरेको हो। परीक्षणका क्रममा रेल बिहान ११ बजे जनकपुरधाम पुगेको थियो।

ad

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका अवसरमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको बताइएको छ।

परीक्षणका लागि आएको भारतीय रेलमा इस्ट सेन्ट्रल रेलवे, हाजीपुरका अतिरिक्त महाप्रबन्धक अमरेन्द्र कुमारसहित रेल सञ्चालन व्यवस्थापनका अधिकारी तथा सुरक्षा कमान्डर सहभागी थिए।

नेपालका तर्फबाट नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुली, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भुदेव झा, जिल्ला प्रहरी प्रमुख रुपेश खड्कालगायत अधिकारी परीक्षणमा सहभागी भएका थिए।

परीक्षणबाट प्राप्त प्राविधिक अवस्थाको मूल्यांकन गरी आवश्यक मर्मत तथा सुधारका काम अघि बढाइने जनाइएको छ। रेल सञ्चालनका लागि रेलमार्ग, प्राविधिक संरचना र अन्य व्यवस्थापन पक्षको अवस्था परीक्षण गर्नु यसको उद्देश्य रहेको छ।

जनकपुरधाम र अयोध्यालाई रेल सेवामार्फत जोड्ने योजनालाई धार्मिक पर्यटन र दुई देशबीचको आवागमनसँग जोडेर हेरिएको छ। जनकपुरधाम हिन्दु धर्मावलम्बीका लागि माता सीताको जन्मस्थलका रूपमा परिचित छ भने भारतको अयोध्या भगवान् रामको जन्मस्थलका रूपमा धार्मिक महत्त्व राख्छ।

यी दुई धार्मिक स्थलबीच रेल सेवा सञ्चालन भएमा नेपाल र भारतका तीर्थयात्रीलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।

यद्यपि, रेल सेवा सञ्चालनको ठोस मिति, नियमित सञ्चालनको स्वरूप, भाडादर, यात्रु व्यवस्थापन, सुरक्षा व्यवस्था तथा प्राविधिक र प्रशासनिक जिम्मेवारीबारे विस्तृत जानकारी सार्वजनिक भइसकेको छैन।

परीक्षण सञ्चालनपछि प्राविधिक पक्षमा आवश्यक सुधार गरी सेवा सञ्चालनको तयारी अघि बढाउने बताइएको छ। तर जनकपुरधामदेखि अयोध्यासम्म रेल सेवा कसरी र कुन व्यवस्थापन ढाँचामा सञ्चालन हुनेछ भन्ने विषय अझै स्पष्ट हुन बाँकी छ।