
काठमाडौं । सञ्चालनमा आएको केही दिनमै नागढुंगा सुरुङमार्ग सवारीचालकको रोजाइमा पर्न थालेको छ। सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको संख्या दैनिक करिब आठ हजार पुगेको छ भने टोल दस्तुरबापत पाँच दिनको अवधिमा ५१ लाख ८७ हजार रुपैयाँ संकलन भएको छ।
कात्तिक १५ गतेदेखि सञ्चालनमा आएको सुरुङमार्गमा सुरुका दिनदेखि नै सवारीसाधनको चाप बढ्दै गएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ।
आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीका अनुसार पहिलो दिन करिब सात हजार ५०० सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। त्यसपछि दैनिक आवागमन बढेर आठ हजारको हाराहारीमा पुगेको छ।
उनका अनुसार सञ्चालनको पहिलो दिन ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको थियो। दोस्रो दिन १२ लाख ७१ हजार, तेस्रो दिन १३ लाख १५ हजार र चौथो दिन १४ लाख ३१ हजार रुपैयाँ संकलन भएको थियो।
पाँचौँ दिनको हिसाब भने राति १२ बजेपछि मात्रै अद्यावधिक हुने भएकाले त्यस दिनको अन्तिम विवरण प्राप्त हुन बाँकी रहेको पन्थीले जानकारी दिए।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको संख्या बढेसँगै टोल दस्तुर संकलन व्यवस्थापनमा पनि केही चुनौती देखिएका छन्। विशेषगरी भारतीय नम्बर प्लेटका केही सवारीसाधनले तत्काल शुल्क तिर्न नसक्दा सुरुङ प्रवेश तथा निकास क्षेत्रमा केही समय अवरोध हुने गरेको आयोजनाको भनाइ छ।
पन्थीका अनुसार केही चालकले शुल्क तिर्न रकम नभएको भन्दै पछि भुक्तानी गर्ने व्यवस्था खोज्दा सवारीसाधनको आवागमन प्रभावित हुने गरेको छ। यस्ता घटनाले कहिलेकाहीँ सवारीको लाम लाग्ने र जाम हुने समस्या निम्त्याएको छ।
तर, अधिकांश चालकले टोल शुल्कबारे जानकारी पाएपछि आवश्यक रकम पहिल्यै तयार राख्न थालेकाले भुक्तानी प्रक्रिया सहज हुँदै गएको उनले बताए। पछिल्ला दिनमा सुरुङमार्ग प्रवेश गर्ने स्थानमा सवारीसाधनको लाम पनि घट्दै गएको आयोजनाको दाबी छ।
टोल दस्तुर संकलनलाई छिटो र व्यवस्थित बनाउन विद्युतीय भुक्तानी प्रणाली अर्थात् एनट्यागको प्रयोग बढाउने तयारीसमेत गरिएको छ। यसका लागि कुमारी बैंकले सातवटै प्रदेशमा एनट्याग वितरणको व्यवस्था मिलाइसकेको पन्थीले जानकारी दिए।
त्यस्तै, ई–सेवाका आधिकारिक विक्रेतामार्फत पनि एनट्याग उपलब्ध गराउने व्यवस्था गरिएको छ। नियमित रूपमा सुरुङमार्ग प्रयोग गर्ने सवारीचालकले एनट्याग प्रयोग गरेमा शुल्क भुक्तानीमा लाग्ने समय घट्ने र सवारीको चाप व्यवस्थापन गर्न सहज हुने आयोजनाको अपेक्षा छ।
पन्थीले दैनिक रूपमा सुरुङमार्ग प्रयोग गर्ने चालकलाई एनट्याग लिन आग्रह गर्दै यसको प्रयोगले टोल शुल्क भुक्तानी छिटो हुने र जामको समस्या न्यूनीकरणमा सहयोग पुग्ने बताए।
सवारी आवागमन र राजस्व संकलनको प्रारम्भिक तथ्यांकले नागढुंगा सुरुङमार्ग प्रयोगप्रति आकर्षण बढ्दै गएको संकेत गरेको छ। अब विद्युतीय भुक्तानी प्रणालीको प्रभावकारी कार्यान्वयन र सवारी व्यवस्थापनले सुरुङमार्गको सेवा अझ सहज बनाउने अपेक्षा गरिएको छ।









Facebook Comments