
काठमाडौं ।आगामी मंसिर २३ र २४ गते आयोजना हुने नेपाल पूर्वाधार समिटमा कुल २४ खर्ब ५३ अर्ब रुपैयाँ लागतका २३ ठूला तथा रणनीतिक पूर्वाधार आयोजना लगानीकर्तामाझ प्रस्तुत गरिने भएको छ।
नेपाल पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुने सम्मेलनमा ऊर्जा, यातायात, नागरिक उड्डयन, सूचना प्रविधि, औद्योगिक विकास, कृषि र पर्यटन क्षेत्रका आयोजना लगानीका अवसरका रूपमा अघि सार्न लागिएको हो।
प्रस्तावित आयोजनामध्ये सबैभन्दा ठूलो लगानी जलविद्युत् क्षेत्रमा केन्द्रित छ। चार खर्ब रुपैयाँ लागत अनुमान गरिएको बुढीगण्डकी बहुउद्देश्यीय आयोजना सूचीको सबैभन्दा ठूलो आयोजना हो। त्यसपछि तीन खर्ब ८१ अर्ब रुपैयाँको दुधकोशी जलाशययुक्त आयोजना, दुई खर्ब आठ अर्बको अपर अरुण र दुई खर्ब रुपैयाँको तमोर जलाशययुक्त आयोजना रहेका छन्।
ऊर्जा प्रसारणतर्फ कर्णाली र भेरी करिडोरमा निर्माण प्रस्ताव गरिएका एचभीएसी प्रसारण लाइनका लागि छुट्टाछुट्टै २५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।
यातायात पूर्वाधारतर्फ पनि ठूलो लगानीका आयोजना समावेश छन्। दुई खर्ब ६० अर्ब रुपैयाँ लागत अनुमान गरिएको माझिटार–शक्तिखोर सुरुङमार्ग र दुई खर्ब २१ अर्बको चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेसवे यस क्षेत्रका प्रमुख आयोजना हुन्। त्यस्तै, एक खर्ब ६२ अर्ब रुपैयाँ लागतको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, ८० अर्बको बुटवल–पोखरा एक्सप्रेसवे र ६७ अर्बको कोहलपुर–सुर्खेत एक्सप्रेसवे पनि लगानीकर्तासमक्ष प्रस्तुत गरिनेछ।
सुरुङमार्ग निर्माणतर्फ १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको दाउन्ने सुरुङमार्ग र छ अर्बको धरान–लेउती सुरुङमार्गसमेत सूचीमा छन्।
सूचना प्रविधि र सहरी पूर्वाधारका क्षेत्रमा महेशफाँट स्याटेलाइट आईटी सिटीका लागि ५५ अर्ब रुपैयाँ प्रस्ताव गरिएको छ। त्यस्तै, ग्लोबल कन्भेन्सन एन्ड डिजिटल हब, छहरे स्याटेलाइट लजिस्टिक सिटी र मनाङमा निर्माण गर्ने प्रस्ताव गरिएको एआई डेटा सेन्टरका लागि समान ५०/५० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।
सहरी विकासअन्तर्गत ४५ अर्ब रुपैयाँको मानेदोभान इको टाउन आयोजना पनि समावेश छ।
औद्योगिक तथा खानी क्षेत्रतर्फ ५१ अर्ब रुपैयाँ लागत अनुमान गरिएको धौवादी फलाम खानी आयोजना, ४० अर्बको शक्तिखोर औद्योगिक पार्क र १० अर्बको नौबस्ता औद्योगिक पार्कलाई लगानीका लागि प्रस्तुत गरिनेछ।
कृषि तथा पर्यटन पूर्वाधारमा पनि लगानीका परियोजना अघि सारिएका छन्। मुस्ताङमा एकीकृत स्याउ खेती तथा प्रशोधन उद्योग स्थापना गर्न ३० अर्ब रुपैयाँ र खप्तडमा एकीकृत इको टुरिजम विकासका लागि २७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।
यसरी समिटमा प्रस्तुत गरिने २३ आयोजनामध्ये चारवटा ठूला जलविद्युत् आयोजना, दुईवटा प्रसारण लाइन, सडक तथा सुरुङमार्ग, विमानस्थल, सूचना प्रविधि, औद्योगिक पार्क, खानी, कृषि र पर्यटनसम्बन्धी परियोजना समेटिएका छन्।
समिटमार्फत यी आयोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने र पूर्वाधार विकासमा निजी क्षेत्रको पुँजी तथा सहभागिता बढाउने लक्ष्य राखिएको छ। ऊर्जा उत्पादनदेखि आधुनिक यातायात सञ्जाल र प्रविधिमा आधारित पूर्वाधार निर्माणसम्मका परियोजना प्रस्तुत गरेर लगानीका सम्भावना खोजिने आयोजकहरूको तयारी छ।









Facebook Comments