
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको संसदीय सुनुवाइ शुक्रबार र शनिबार हुने भएको छ।
सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइसम्बन्धी कार्यतालिका स्वीकृत गरेको हो।
समितिले तय गरेको तालिकाअनुसार शुक्रबार उजुरीकर्ताहरूसँग छलफल गर्नुका साथै प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूको सुनुवाइ हुनेछ।
त्यस्तै, शनिबार प्रस्तावित न्यायाधीशद्वय जनक पाण्डे र गोकर्ण डाँगीको संसदीय सुनुवाइ गरिने समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।
सभापति श्रेष्ठका अनुसार चारै जना प्रस्तावित न्यायाधीशविरुद्ध कुल २८ वटा उजुरी परेका छन्। तीमध्ये डा. बागचन्दविरुद्ध पाँच, सारूविरुद्ध छ, पाण्डेविरुद्ध १० र डाँगीविरुद्ध सातवटा उजुरी दर्ता भएका छन्। पाँच जना उजुरीकर्ताले भने चारै जना प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिएका छन्।
समितिको बैठकमा प्राप्त उजुरीहरू अध्ययनका लागि सदस्यहरूलाई वितरण गरिएको थियो। प्रस्तावित न्यायाधीशहरूको नियुक्तिसम्बन्धी निर्णय गर्नुअघि उजुरीमा उठाइएका विषय र उनीहरूको पृष्ठभूमिबारे समितिले अध्ययन गर्नेछ।
यसअघि असोज २० गते बसेको न्याय परिषद्को बैठकले चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
अब संसदीय सुनुवाइ समितिमा हुने छलफल र सुनुवाइपछि उनीहरूको नियुक्तिसम्बन्धी प्रक्रिया अघि बढ्नेछ।









Facebook Comments