काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित भएका छन् ।

दक्षिण कोरियाको राजधानी सियोलमा जारी आईक्यापको १३औँ महासभाले चौधरीलाई स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित गरेको हो । यससँगै चौधरीले एसियाली राजनीतिक दलहरूको क्षेत्रीय नेतृत्व तहमा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।

ad

आईक्याप एसियाका विभिन्न राजनीतिक विचारधारा र पृष्ठभूमिका राजनीतिक दलहरूबीच संवाद, सहकार्य र आपसी समझदारी प्रवर्द्धन गर्ने क्षेत्रीय मञ्च हो । 

स्ट्यान्डिङ कमिटीमा भारतका पूर्वविदेशमन्त्री सलमान खुर्सिद, मलेसियाका व्यापार तथा जीवनयापन लागतसम्बन्धी उपमन्त्री डा। फुजिया सल्लेह, श्रीलंकाका यातायात, राजमार्ग तथा सहरी विकासमन्त्री एवं संसद्का नेता विमल रत्नायके र जापानको कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टीकी अन्तर्राष्ट्रिय विभाग निर्देशक तथा हाउस अफ काउन्सिलर्सकी सदस्य माइको ताजिमालगायत एसियाका विभिन्न देशका वरिष्ठ राजनीतिक व्यक्तित्वहरू रहेका छन् ।

महासभामा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै सहभागी भएका चौधरीले नेपालको आर्थिक विकास, निजी क्षेत्रको सशक्तीकरण, वैदेशिक लगानी आकर्षण र स्वदेशी उद्योगलाई विश्व बजारसँग जोड्ने विषयमा आफ्नो धारणा राखेका थिए ।

उनले दक्षिण कोरियाको आर्थिक विकासको अनुभव नेपालका लागि अनुकरणीय रहेको उल्लेख गर्दै निजी क्षेत्रको विस्तार, उद्यमशीलताको प्रवर्द्धन र सरकार तथा निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका थिए ।

चौधरीले नेपालमा युवा पुस्ताले उठाएका भ्रष्टाचार, सुशासन, जवाफदेहिता र रोजगारीका प्रश्नलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा पनि जोड दिएका थिए । राजनीतिक नेतृत्वप्रतिको विश्वास पारदर्शिता, इमानदारी र परिणाममुखी कामबाट मात्रै हासिल गर्न सकिने उनको भनाइ थियो ।