काठमाडों । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार निरङ्कुश र स्वेच्छाचारी ढङ्गले अघि बढिरहेको आरोप लगाउँदै सत्ताको आडमा विधिको शासन र लोकतान्त्रिक मूल्यमान्यता मिच्ने छुट कसैलाई नभएको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय, सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा सभापति थापाले वर्तमान सरकारको स्वेच्छाचारिताले सीमा नाघेको बताए । उनले सरकारमा बसेका व्यक्तिहरूले आफ्नो इच्छालाई नै कानुन ठान्ने प्रवृत्ति देखिएको भन्दै शक्तिको स्वेच्छाचारी प्रयोगप्रति चिन्ता समेत व्यक्त गरेका छन् । 

ad

सत्तारुढ दल रास्वपाले सरकारका गलत कदमप्रति केवल औपचारिक वक्तव्य निकालेर पन्छिन नमिल्ने उनको भनाई थियो ।  ‘हामीलाई औपचारिकता निभाउने वक्तव्य होइन, ठोस परिणाम चाहिएको छ, सभापति थापाले भने, ‘साँच्चिकै निष्ठा बाँकी छ भने रास्वपा संसदीय दलको बैठक बसोस्, त्यहाँ प्रधानमन्त्रीलाई बोलाइयोस्, उहाँलाई स्पष्ट निर्देशन दिइयोस् र त्यो निर्देशन बोकेर कार्यान्वयनमा लगियोस्। 

उनले मिडिया हाउसमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने र चौतर्फी आलोचना भएपछि उन्मुक्ति दिने सरकारी शैलीले विधिको शासनको खिल्ली उडाएको पनि बताए । यो विषय केही व्यक्ति पक्राउ परेर छुटेको घटनासँगै समाप्त नहुने भन्दै सभापति थापाले भने– यसले उठाएको प्रश्न भनेको सरकारले आफ्नो अधिकारलाई कसरी बुझेको छ र अभिव्यक्ति स्वतन्त्रतालाई कसरी बुझेको छ भन्ने हो ।

सभापति थापाले संविधानले ग्यारेन्टी गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि बहानामा हुने हस्तक्षेप स्वीकार्य नहुने चेतावनी  समेत दिए ।